काठमाडौँ आइपुगेको रेम्डेसिभिर औषधिको वितरण शुरु
काठमाडौं, २१ बैशाख । औषधि आयात गर्ने निजी संस्था हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगादेशबाट झिकाएको २० हजार मध्ये ३ हजार भाइल रेम्डेसिभिर औषधि काठमाडौँ आइपुगेको छ । रेम्डेसिभिर आउनासाथ हाम्रो मेडि कन्सर्नले वितरण शुरु गरेको छ ।
पहिलो प्राथमिकतामा सरकारले तोकेका कोभिड अस्पतालहरु छन् । त्यसबाहेक कोभिडको उपचार गर्ने उपत्यकाका अन्य अस्पतालमा पनि आजै रेम्डेसिभिर वितरण गर्ने हाम्रो मेडि कन्सर्नले जनाएको छ । यस्तै उपत्यका बाहिरका अस्पतालहरुमा पनि आवश्यकताको आधारमा प्राथमिकताका साथ पठाउन थालिएको हाम्रो मेडि कन्सर्नका प्रमुख शम्भु कार्कीले बताए ।
पहिलो लटमा केही थोरै आएको र सबैलाई पुरयाउन पर्ने भएकोले अस्पतालहरुलाई आज अधिकतम ५४ भाइलसम्म पठाइने छ । भोलि नै थप चार हजार भाइल आयान हेल्थ केयर प्रालिले काठमाडौँ ल्याइसक्ने बताएको छ ।
नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्य रेम्डेसिभिर आउन थालेको र थप ल्याउनका लागि अरु कम्पनी पनि पाइपलाइनमा भएकोले यसको अभाव नहुने बताएकाछन् ।
पछिल्लो समय रेम्डेसिभिर औषधिको अत्यधिक माग हुँदा कालोबजारी समेत भएको थियो ।