चितवनमा कोरोनाको डरलाग्दो अवस्थाः ३ सातामा १३ सय ६३ प्रतिशतले संक्रमण बढ्यो



Download our app to get more features

चितवन, २१ वैशाख । देशैभर बढ्दो क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण चितवनमा पनि डरलाग्दो तरिकाले उकालो लागेको छ । 

गत चैतको पहिलो साता जिल्लामा २२ जना सक्रिय संक्रमित रहेका थिए । यही वैशाख १ गतेसम्म यो सङ्ख्या ९६ पुगेको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार मंगलबार (आज) जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या १ हजार ४ सय ४ पुगेको छ । यसरी हेर्दा तीन सातामा १ हजार ३ सय ६३ प्रतिशतले संक्रमण वृद्धि भएको देखिन्छ ।

जिल्लाभर १ हजार ४ सय ४ जना सक्रिय संक्रमित

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मंगलबार दिउँसोसम्म जिल्लाभर १ हजार ४ सय ४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार १ सय ६३ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । यो जिल्लाभर सक्रिय संक्रमितको ८३ प्रतिशत हो । बाँकी २ सय ४१ जना संक्रमित हुनेमा जिल्लाका अन्य छ स्थानीय तहका छन् ।

संक्रमितको सङ्ख्या ८ हजार ४ सय ४५, एकसय २१ को मृत्यु  

जिल्लाभर अहिलेसम्म ८ हजार ४ सय ४५ जना कुल संक्रमित मध्ये ६ हजार ९ सय २० जना निको भईसकेका छन् ।  जसमध्ये एकसय २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका भित्रका सबैभन्दा बढी छन् । त्यस्तै, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका सबैभन्दा कम रहेका छन् । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिकामा ७५ जना, रत्ननगर नगरपालिकामा १६ जना रहेका छन् । त्यस्तै, कालिका, खैरहनी र राप्ती नगरपालिकामा समान ९/९ जना रहेका छन् । त्यसैगरी माडी नगरपालिका २ जना र इच्छाकामना गाउँपालिकामा एकजना रहेको छ । 

५२ जना आईसीयू र १२ जना भन्टिलेटरमा

चितवनमा संक्रमित मध्ये ५२ जनाको आईसीयू र १२ जनाको भन्टिलेटरमा उपचार चल्दै छ ।

स्वास्थ्य कार्यालय चितवनले मंगलबार दिउँसोसम्म यहाँका तीन ठुला अस्पतालमा गरी २ सय १६ जना संक्रमित उपचाररत रहेका जनाएको छ । ती मध्ये ५२ जना संक्रमितको आईसीयू र १२ जनाको भन्टिलेटरमा उपचार भईरहेको जनाएको छ । 

कार्यालयका अनुसार चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा १० जनाको आईसीयू, चितवन मेडिकल कलेज (सिएमसी) मा २५ जनाको आईसीयूमा र ९ जनाको भन्टिलेटरमा उपचार चल्दै छ । त्यस्तैगरी कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा १७ जना आईसीयू र ३ जनाको भन्टिलेटर उपचाररत छन् । ४१ जना एचडियूमा र बाँकीको सामान्य तथा मध्यम वार्डमा उपचाररत छन् । यसरी उपचाररत रहनेमा अन्य जिल्लाका संक्रमित समेत रहेका छन् ।

कोरोना संक्रमण नियन्त्रण बाहिर रहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई उनीहरूले अनुरोध गरेका छन् । उनीहरूले सन्तुलित खाना, घरमै बसेर नियमित व्यायाम र उच्च आत्मबल राख्न समेत आग्रह गरेका छन् ।

Last modified on 2021-05-05 06:58:35

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts