नेपालमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम जारी, थपिए ७ हजार ६ सय ६० नयाँ संक्रमित
काठमाडौं, २१ वैशाख । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६० हजार नजिक पुुगेको छ ।
दैनिक संक्रमण दर उकालो लागेसँगै नेपालमा सक्रिय संक्रमितको संख्या पनि उकालो लाग्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा हालसम्म कै धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १६ हजार ७ सय २ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ६ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
गत २४ घन्टामा १६ हजार १ सय ३१ आरटी पिसिआर परीक्षण गर्दा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टीजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप १हजार ७ सय ७५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७ सय ९० पुगेको छ । यो दर कुल संक्रमितको ८२ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ रहेको छ । सक्रिय संक्रमितमध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा छन् भने ४ हजार २ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।