नेपालमा एकैदिन हालसम्मकै धेरै मानिसको कोरोनाका कारण मृत्यु, ६ सय १६ जना आईसीयूमा भर्ना
काठमाडौं, २१ वैशाख । नेपालमा एकैदिन हालसम्म कै धेरै मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मुलुकमा बढ्दो कोरोना संक्रमणको दरसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ५५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ । यो दर कुल संक्रमितको ० दशमलव ९७ प्रतिशत हो ।
हाल नेपालभर रहेका संक्रमितमध्ये आईसीयू र भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि बढ्दै गएको छ । मन्त्रालयका अनुसार हाल देशभर रहेका संक्रमितमध्ये ६ सय १६ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७९ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
नेपालमा कोरोनाको दोस्रो लहरले संक्रमण दरका साथै गम्भीर बिरामीको संख्या पनि बढ्दै गएको छ । जसका कारण बिरामीको बिचल्ली हुन थालेको छ ।