काठमाडौं उपत्यकाको धेरै ठाउँमा आइसोलेशन केन्द्र बन्दै



Download our app to get more features

काठमाडौं, २१ बैशाख । काठमाडौं उपत्यकाको धेरै ठाउँमा आइसोलेशन केन्द्र बनाउने काम सुरु भएको छ ।
 सङ्क्रमित बढी भएर स्पतालमा बिरामीले बेड पाउने सम्भावना कम हुँदै गएपछि स्थानीयबासिन्दा, सङ्घसंस्था, पालिका र सरकारको पहलमा आइसोलेशन केन्द्र बनाउन थालिएको हो । कतिपय ठाउँमा अक्सिजनसहितको आइसोलेशन केन्द्र बनिसकेको छ भने कतिपय ठाउँमा बनाउने तयारी छ ।

काठमाण्डौको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा अहिले दश सङ्क्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले बताए । 

कोरोना सङ्क्रमितका बिरामीलाई भर्ना गरी उपचार सुरु गरिएको जानकारी दिँदै उहाँले सङ्क्रमितको उपचारका लागि आवश्यक परेमा ०१–४१५३५९३ मा सम्पर्क गर्न सकिने बताएकाछन् । साथै नगरपालिकाभित्र कसैलाई कोभिडको शङ्का लागेमा उपचारका लागि एम्बुलेन्स आवश्यक परे ९८४१६५५६२१ चिरन कटुवाल, ९८६१–६६९३०६ कृष्ण बिसुन्खेलाई सम्पर्क गर्न सकिने जानकारी गराइएको छ । 

यस्तै, काठमाण्डौको चन्द्रागिरी नगरपालिकाले चन्द्रागिरी अस्पताल थानकोटमा आइसोलेशन केन्द्र बनाउने भएको छ ।

काठमाण्डौ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रुपमा रहेको चन्द्रागिरी अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागेको जानकारी दिए ।  चन्द्रागिरी अस्पतालमा २० र मनमोहन अस्पतालमा ३०० भन्दा बढी कोरोना सङ्क्रमितको उपचार गर्न सकिने छ ।


यस्तै, टोखा नगरपालिकामा अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र बन्ने भएको छ ।

काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको यो नगरपालिकाले नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखापरेसँगै अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र निर्माण गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले वडा नं ७ मा रहेको राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेशन केन्द्र स्थापना गर्न पहल भइरहेको जानकारी दिए ।  राधा स्वामी भवनभित्र बन्न लागेको अक्सिजन थेरापीसहितको आइसोलेशन केन्द्र ८० शय्याको हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको छ ।
उता, च्यासलका स्थानीयबासिन्दाले अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार गरेका छन् ।

च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा पाँच बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार गरिएको हो । कोरोनाबाट सङ्क्रमित हुने स्थानीय बासिन्दाका लागि आइसोलेशन सेन्टर तयार गरिएको छ ।  


भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको नेपाल इञ्जिनियरिङ कलेजमा १०० बेडको आइसोलेशन केन्द्र बनाइएको छ ।

कलेजले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै १०० बेड आइसोलेशन केन्द्र बनाएको हो । आइसोलेशन बेडमा बिरामीलाई चाहिने स्यानिटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ । स्थानीय सरकारको र कलेजको सहयोगमा आइसोलेशन केन्द्र बनेको छ । 

Last modified on 2021-05-04 15:29:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts