गेटामा २ हजार क्षमताको आइसोलेसन सेन्टर बनाउने काम सुरु
धनगढी, २० वैशाख । कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो ।
मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिको आह्वानमा सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकबाट तयारी सुरु गरेको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) अध्यक्ष समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले २ हजार क्षमताका होडिंग सेन्टरसहितको आइसोलेसन निर्माण गरिने बताए । अबको एक हप्ताभित्रै सेवा समेत सुरु गरिने बताउँदै प्रजिअ रिजालले आफ्नै नेतृत्वमा र्यापिड एक्सन टीम समेत बनाइने जानकारी दिए ।
यसैबीच मन्त्री भट्टले आइसोलेसन व्यवस्थापनको लागि गेटामा तत्काल विद्युत जडान, खानेपानी व्यवस्थापन, स्वास्थ्य सामग्री तथा उपकरण व्यवस्थापनको लागि निर्देशन दिइएको बताइएको छ ।