नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ४३ हजारभन्दा बढी
संक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो
काठमाडौं, २० वैशाख । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार नाघेको छ ।
गत २४ घन्टामा ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकैदिन थपिएको संक्रमित मध्ये हालसम्मकै धेरै संक्रमित संख्या हो ।
नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर दैनिक उकालो लाग्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर १७ हजार १ सय ७६ कोरोना परीक्षण भएको छ । जसमा १६ हजार ६ सय ५८ आरटी पिसिआर परीक्षणमा ७ हजार ३ सय ८८ र ५ सय १८ एन्टीजेन परीक्षण गर्दा ६० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार देशभर थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा २ हजार २१ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये २ लाख ८६ हजार १५ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ८३ दशमलव ३ प्रतिशत हो ।
नेपालमा कोरोना संक्रमणको दर बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएको छ । नेपालमा हाल ५४ हजार ४१ सक्रिय संक्रमित रहेका छन् ।