धनगढीका निजी अस्पतालमा कोरोना र अन्य बिरामीका उपचार एकैठाउँमा, संक्रमण फैलिने डर



Download our app to get more features

धनगढी, २० वैशाख ।  धनगढीका सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिएपछि निजी अस्पतालहरुले समेत संक्रमितको उपचार थालेका छन् । तर निजी अस्पतालहरुमा कोरोना संक्रमित र अन्य बिरामीहरुलाई एकै वार्डमा राखिँदा संक्रमण फैलिने त्रास रहेको छ ।  

सोही कारण धनगढीका निजी अस्पतालहरुले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाए अन्य स्वास्थ्य सेवा सरकारी मुल्यमै दिन तत्पर रहेको बताएका छन् ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिएको र संक्रमितको संख्या थलिदै गएपछि सुदूरपश्चिम सरकारको सहकार्यमा धनगढीका निजी अस्पतालहरुले संक्रमितहरुको उपचारको लागि कोरोना वार्ड सञ्चालनमा ल्याएका थिए । 

निजी अस्पतालहरुमा ५ देखि १० बेडसम्मको वार्ड सञ्चालन गरिएको हो। सोही अनुसार अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०/१० बेड उपलब्ध गराउने बताएका थिए। धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र ओम आशा अस्पतालले ५/५ बेड उपलब्ध गराएका छन् ।
 
तर कोरोना संक्रमित र अन्य बिरामीहरुलाई एकै वार्डमा राखिएको भन्दै बिरामीका कुरुवाहरुले बिरोध गर्दै आएकाले कोरोना संक्रमितलाई राख्न समस्या भएको माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले बताए । ‘कोरोनाका संक्रमित र अन्य बिरामी एकै वार्डमा राख्नुपर्ने अवस्था छ । हामीसँग एकै भवन छ’ उनले भने, ‘त्यहि विषयमा बिरामीका आफन्तहरु झगडा गर्न आउँछन् ।’

निजी अस्पतालमा समेत कोरोना संक्रमित राख्ने निर्णय भएसँगै संक्रमितहरु निजी अस्पताल केन्द्रीत भएकाले धान्न गाह्रो भएको निजी अस्पताल सञ्चालकहरुले बताएका छन् । 

सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाए निजी अस्पतालमा अन्य बिरामीहरुलाई सरकारी दर रेटमै सेवा दिन तयार रहेको निर्सग अस्पतालका प्रवन्ध निर्देशक कुवेर शाहीले बताए । 

‘अहिले कोरोनाका कारण बिरामीको संख्या कम छ । जटिल बिरामी मात्र अस्पताल आउने गरेका छन्’ उनले भने, ‘सेतीले कोरोना संक्रमितलाई उपचार गरे हामी अन्य बिरामीलाई सरकारी मुल्यमा सेवा दिन तयार छौ। तर उहाँहरुले मानिरहनु भएको छैन् ।’

सेती प्रादेशिक अस्पतालका वार्डहरुमा समेत संक्रमित राखिएकाले सेतीलाई कोरोना विशेष अस्पतालका रुपमा विकास गर्न निजी अस्पतालहरुले प्रस्ताव समेत गरेका थिए । तर प्रदेश सरकारले कोरोनाका संक्रमितहरुलाई राख्नुपर्ने दवाब दिएपछि हाल समस्या भएको बताइएको छ ।
 
निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश (अफिन)का अध्यक्ष जनकराज जोशीले कोरोना संक्रमितलाई उपचार दिन सम्भव नदेखिएको बताए। उनले भने, ‘सुदूरपश्चिम सरकारले भनेपछि संक्रमित राख्न सुरु गरेका छौं । तर सेवा दिन सकिने देखिएको छैन्। एकै भवन भएकाले वार्ड सञ्चालनमा पनि समस्या देखिएको छ ।’

सेती प्रादेशिक अस्पतालमा कोरोनाका संक्रमितलाई मात्र उपचार गराए आवश्यक उपकरणसँगै जनशक्ति समेत सहयोग गर्न निजी अस्पतालहरुले बताएका छन् । उनीहरुले बिरामीको चाप अन्य समयका जस्तो नहुने भएकाले सरकारी मुल्यमा समेत सेवा दिने बताएका हुन् । 

तर प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले उनीहरुले जिम्मेवारीबाट पछाडी हट्न नहुने बताए । उनले भने, ‘हामीले उहाँहरुलाई आग्रह मात्र गर्ने हो। संघीय सरकारले चाहे निजी अस्पताल आफैले सञ्चालन समेत गर्न पाउछ । संघीय सरकारले थप योजना बनाउँला । ’

अहिले प्रति विरामीको उपचार खर्च सामान्य प्रकृतिको भए ३ हजार ५ सय रुपैँयासम्म निजी अस्पतालहरुलाई सरकारले प्रदान गर्दै आएको छ । यस्तै जटिल लक्षण भएका विरामीको हकमा ७ हजार र १५ हजार रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने भनेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts