सुदूरपश्चिममा अक्सिजन र बेड पाउनै समस्या, सरकार अझै छलफलमै



Download our app to get more features

धनगढी, २० वैशाख । सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण निरन्तर बढ्न थालेसँगै अस्पतालहरूमा बेड र अक्सिजनको चरम अभाव भएको छ । जसका कारण समयमा उपचार नपाई संक्रमितले मृत्युवरण गर्न थालेका छन् । 

अक्सिजनको चरम अभाव भएपछि सेती प्रादेशिक अस्पतालमा भने दुई जना बिरामीलाई एउटा अक्सिजन सिलिण्डर बाड्नुपर्ने बाध्यता रहेको अधिकारीहरुले बताएका छन् ।

पहिलो प्रजातिभन्दा युके भेरियन्ट नामको कोरोना भाइरस ४३ देखि ९० प्रतिशतले छिटो फैलिरहेको अधिकारीहरु बताउँछन्।  भारतझैं नेपालमा पनि एकदमै द्रुत गतिमा संक्रमण बढ्दै गइरहेको अवस्थामा यसको रोकथामका लागि भने पूर्वतयारी अप्रयाप्त देखिएको छ ।  

कोरोना संक्रमितसँगै समयमा अक्सिजन र बेड पाउन समस्या भएपछि मृत्युदर समेत उच्च हुँदै गएको छ । कोरोनाले विकराल रुप लिइसक्दा पनि सरकारी पक्ष भने यो यहाँको मात्र समस्या नभएर विश्वभरीकै भएको भन्दै जिम्मेवारीबाट पन्छिने गरेको छ । 

विश्वभरी नै कोरोनाले विकराल रुप लिइरहेको अवस्थामा यसको रोकथाम र व्यवस्थापनमा कठिन भइरहेको बताउँदै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने उचित व्यवस्थापनका आफुहरु छलफलमै रहेको बताए ।

कोरोनाको दोस्रो लहर भयावह बन्दै जाँदा सरकारले सिकिस्त बिरामीका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनी सर्वसाधारणलाई आफै सतर्क हुन जारी गरेको आग्रहले धेरैलाई सरकारप्रति आक्रोशित बनाएको छ ।
 
सेती प्रादेशिक अस्पतालमा दैनिक ६० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएकोमा माग भने १ सय सिलिण्डर रहेको बताइएको छ । सम्भव भए एउटा बेडमा दुई जनालाई राखेर भएपनि उपचार गर्ने तयारीमा रहेको अस्पतालका आइसीयू इन्चार्ज डाक्टर कपिल गौतमले बताए । ‘हामीसँग अक्सिजन र बेडको अभाव भइरहेको बेला विशेष गरी प्रदेश सरकारले व्यवस्थापनका लागि विशेष पहल गर्नुपर्ने हो’ उनले भने । 

दोस्रो चरणमा पनि कोरोना संक्रमणको ग्राफ दिनानुदिन ज्यामितीय हिसाबले उकालो लाग्दो छ । अस्पतालहरुमा बेड नपाएर फर्किनुपर्ने अवस्था मात्र नभएर कतिपयले त अक्सिजन अभावकै कारण ज्यान समेत गुमाउनु परेको छ । 

यही समयमा अनियमित विद्युत कटौतीका कारण मालिका ग्रुप धनगढीले अक्सिनको उत्पादन आधाले कटौती गर्नु परेको छ । दैनिक ६० देखि एक सय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको उद्योगले विद्युत समस्याका कारण मुश्किलले ६० देखि ८० सिलिण्डर मात्र उत्पादन भइरहेको उद्योगका व्यवस्थापक नरेश शाहले बताए ।

दैनिक हजारौँको संख्यामा सुदूरपश्चिम प्रदेशका सीमा सम्बन्ध जोडिएका क्षेत्रहरुबाट आएका नेपालीहरुलाई विभिन्न खाली भवन र खुला स्थलमा टेन्टहरू राखेर भएपनि बिरामीको उपचार गर्न सकिन्छ । 

यसका लागि सेनाको अनुभव काम लाग्न सक्छ । उनीहरूलाई परिचालन गरेर अस्थायी उपचार केन्द्र बनाउन सकिन्छ । त्यस्तै अक्सिजन सिलिन्डरलगायत अत्यावश्यक सामग्री तत्काल एयरलिफ्ट गरेर भएपनि आपूर्ति व्यवस्थापनलाई सहज बनाउनु जरुरी रहेको बताइएको छ ।

Last modified on 2021-05-03 18:53:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts