कोरोनाबाट सोमबार बिहान धनगढीमा मात्रै थप चार र कञ्चनपुरमा एकजनाको मृत्यु

धनगढी, २० बैशाख । कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
३८ वर्षीय पुरुषको सोमबार विहान साढे १ बजेको समयमा मृत्यु भएको हो भने महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु भएको हो।
कोरोना पुस्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए।
यस्तै धनगढी २ का ४३ वर्षीय संक्रमित पुरुषको सेतीप्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको हो।
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले बताए।
उता कञ्चनपुरमा पनि थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका १९ का ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।
१५ गते संक्रमण पुस्टि भएका उनी होमआइसोलेसनमा बसेका र हिजो मात्रै अस्पताल भर्ना भएका अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा। गोविन्द रोकायाले बताए।