काेभिड नियन्त्रण गर्न विवेकशील साझा पार्टीका संयाेजक पाण्डेले दिए ८ सुझाव
काठमाडौं, २० वैशाख । मुलुकमा बढ्दो कोरोना संक्रमणका कारण सबै क्षेत्रले सावधानी अपनाउन भन्दै आग्रह र अपिल गरिरहेका छन् । जनस्वास्थ्य विज्ञ, चिकित्सक, सरकार, विभिन्न राजनीतिक दलले कोरोना महामारीबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नका लागि बारम्बार अपिल गरिरहेका छन् । यसैक्रममा विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सुझाव दिएका छन् ।
यी ८ वटा काम गरिहालौँ-
१) स्वास्थ्य सङ्कटकाल घोषणा गरौँ, निजी मेडिकल कलेज र अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गरौँ।
२) कोरोनाको उपचार निःशुल्क गरौँ।
३) सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई पिपिई, मास्क लगायत स्वास्थ्य सुरक्षा सामाग्री र घोषणा भएको तर नदिइएको स्वास्थ्यकर्मीको प्रोत्साहन भत्ता तुरुन्तै उपलब्ध गराऔँ।
४) सेना/प्रहरी र स्वयंसेवकहरूको सहयोगमा अस्थायी उपचार केन्द्र स्थापना गर्न पहल गरिहालौँ।
५) निवृत्त स्वास्थ्यकर्मीलाई स्वयंसेवाको आह्वान गरौँ।
६) आवश्यक स्वास्थ्य उपकरण, भ्याक्सिन ल्याउन चीनसहित अन्य राष्ट्रसँग थप पहल गरौँ।
७) लकडाउनका कारणले दैनिक छाक टार्नै गाह्रो भएका श्रमिकका लागी राहत प्याकेज उपलब्ध गराऔँ।
८) खोप कार्यक्रम पुनः सुचारु गरौँ। पिसिआर टेस्ट गर्ने र खोप लगाउने केन्द्रलाई व्यवस्थित गरौँ।