कर्णालीमा एकैदिन थपिए २१४ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १ सय ७२ जना छन् । यस्तै, दैलेखका २१ जना, जुम्लाका ९ जना, कालीकोटका १३ जना, मुगुका एकजना र अन्य प्रदेशका ७ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गएको २४ घण्टामा ४ सय ३७ जनामा गरिएको र्यापिड एन्टिजेन परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा दैलेखका ११ जना, जुम्ला र कालीकोटका १३र१३ जना, डोल्पाका छ र मुगुका दुईजना छन् ।
कर्णालीमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ६३३ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको निर्देशनालयले जनाएको छ ।