महाकाली अस्पतालमा अक्सिजनसँगै जनशक्ति अभाव



Download our app to get more features

धनगढी, १८ वैशाख । कोरोना भाइरसको दोस्रो लहरसँगै सुदूरपश्चिमका अस्पताल संक्रमितले भरिन थालेको छ ।

कञ्चनपुरको महाकाली अस्पतालमा पनि अक्सिजन र जनशक्ति अभाव सुरु भएको छ ।

झण्डै २ सय १४ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले अस्पतालका डाक्टर लगायत नर्स र अन्य कर्मचारी गरेर २६ जनामा कोरोना संक्रमण पुस्टि भइसकेको छ । अस्पतालका झण्डै २ दर्जन बढी दक्ष जनशक्ति कोरोना संक्रमित हुँदा अस्पताललाई भने दैनिक बिरामी धान्न धौधौ परेको अवस्था छ ।   

अस्पतालमा जनशक्तिसँगै अक्सिजन अभाव हुँदै गएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए । 

‘दरबन्दी अनुसारको जनशक्ति परिपूर्ति नहुन सकेको अस्पताललाई भएको जनशक्तिमा पनि कोरोना संक्रमण पुस्टि भएपछि समस्या भइरहेको छ’ उनले भने, ‘प्रदेश सरकारसँग जनशक्ति शहजीकरणको लागि पहल गरिएको भएपनि सार्थकता पाउन नसकेको स्थिती छ ।’

महाकाली अस्पतालको आइसियू र आइसोलेसन कक्षमा ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । 

यस्तै ५५ जना कोरोना संक्रमित बाहेक २६ जना अस्पतालका कर्मचारी, डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको भने छुट्टै उपचार भइरहेको अध्यक्ष जोशीले बताए ।
 
महाकाली अस्पतालको आइसियू वेड क्षमता भने निकै कम रहेको छ । ६ ओटा आइसियू वेड र ४ ओटा भेन्टिलेटर कोरोना केसको लागि प्रयोगमा ल्याएको भएपनि सबै वेडमा बिरामी भरिएका छन् ।

आइशोलेसनमा भने १८ ओटा वेड खाली रहेका छन् । अस्पताल वयवस्थापन समितिका अध्यक्ष जोशीले अस्पतालसँग दक्ष जनशक्ति नभएका कारणले भएका उपकरण पनि सञ्चालनमा ल्याउन समस्या भएको बताए । 

‘अस्पतालसँग भेन्टिलेरको अवस्था मौज्दात रहेको अवस्था छ। १० वटामध्ये ४ वटा भेन्टिलेर मात्रै सञ्चालनमा रहेका छन् । बाँकी ६ ओटा भेन्टिलेटर भने जनशक्ति अभावका कारण सञ्चालन गर्न सकिएको अवस्था छैन’ उनले भने, ‘यस्तै संक्रमितको संख्या बढ्दै गएकोले अस्पतालाई अक्सिजनको पनि अभाव सृजना भएको छ ।’

अक्सिजन आपूर्तीको लागि सहज अवस्था नभएका कारण अस्पतालमा अक्सिजन अभाव भएको अध्यक्ष जोशीले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts