डडेल्धुरा अस्पताल संक्रमितले भरियो, अस्पताल भन्छः अब उपचार गर्न सकिँदैन
डडेल्धुरा, १८ वैशाख । डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्था आएको जनाएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसियू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो ।
‘हामी निकै गाह्रो समयको सामना गरिरहेका छौं, हामीले यस्तो दिनसँग सामना गर्नुपर्ला भनेर सोचेका थिएनौं, तत्काल थप बिरामीहरूलाई भर्ती गर्न नसक्ने वास्तविकतामा पुगेका छौं,’ सूचनामा भनिएको छ । अस्पतालमा भएका बिरामी निको हुनेवित्तिकै नयाँ केस भर्ने अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिशचन्द्र विष्टले अक्सिनजले धान्न नसकेर बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको बताए ।
‘अक्सिजन आवश्यक पर्नेलाई रेफर गर्नेछौं । बेड मात्र भएर के गर्ने अक्सिजन अभाव भइसक्यो,’ उनले भने ।
अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट छ । त्यसले दैनिक ११ जनालाई मात्रै अक्सिजन दिनसक्ने क्षमता रहेको मेसु विष्टले बताए ।
‘प्लान्टबाट दैनिक २७ सिलिण्डर भर्ने क्षमता हो, जसले ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छ । तर अहिले १६ जनालाई अक्सिजन दिएका छौं,’ उनले भने ।
अस्पतालले पाइपलाइनबाट अक्सिजन बेडसम्म पु¥याउने व्यवस्था गरेको छ । डडेल्धुरा अस्पतालमा अहिले १६ जना कोभिड सक्रमित बिरामी छन् । तीमध्ये ३ भेन्टिलेटरमा छन् भने सबैलाई अक्सिजनमा राखिएको छ । अस्पतालमा आइसियू बेड ८ र एचडियू गरेर २१ बेड कोरोना संक्रमितका लागि तयार छ ।
डडेल्धुरा अस्पताल संघीय सरकार मातहत रहेको प्रदेशको एक मात्र अस्पताल हो ।