अस्पताल बाहेकका ठाउँमा अक्सिजनको प्रयोगमा रोक



Download our app to get more features

काठमाडौं, १८ बैशाख । cc 

शुक्रबार साँझ बसेको सीसीएमसीको निर्देशक  समितिको बैठकले कोरोना सङ्क्रमितलाई अक्सिजनको अभाव हुँदै गइरहेको भन्दै उद्योग वा अन्य कुनै पनि क्षेत्रमा अक्सिजनको प्रयोगमा रोक लगाउन मन्त्रिपरिषद्मा सिफारिस पठाउने निर्णय गरेको हो ।

बैठकले नागरिकले घरमा राखेका र अस्पतालमा भएका सिलिन्डरलाई पनि तत्कालै रिफिलको लागि उद्योगमा पठाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिए ।  

सीसीएमसीले पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न पनि अक्सिजन उद्योगलाई आग्रह गरेको छ । यस्तै सीसीएमसीले भारतबाट आउने धेरै व्यक्तिमा सङ्क्रमण देखिएको भन्दै २२ वटा सीमानाका बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । 

बैठकले काँकडभिट्टा, जोगवनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी नाका मात्र सञ्चालन गर्न सिफारिस गरेको हो । खुला हुने नाकाबाट भित्रिनेलाई पनि होल्डिङ सेन्टरमा राखेर मात्रै घर पठाउन सिफारिस गरिएको छ । 

बैठकले कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्न र निषेधाज्ञालाई प्रभावकारी बनाउन पनि सिफारिस गरेको छ । कोरोना महामारी उच्च दरमा फैलिएसँगै सरकारले अहिलेसम्म २३ वटा जिल्लामा निषेधाज्ञा लगाइसकेको छ ।

Last modified on 2021-05-01 16:59:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts