भारतले निर्यातमा रोक लगाएपछि बंगलादेशबाट ८५ हजार भाइल रेम्डेसिभिर आयात गरिँदै
पहिलो चरणको ३० हजार भाइल भोलि नेपाल आइपुग्ने
काठमाडौं, १८ वैशाख । औषधि व्यवस्था विभागले थप ५५ हजार भाइल रेम्डेसिभिर औषधि आयातका लागि अनुमति दिएको छ ।
विभागले औषधि आयात गर्नका लागि अनुमति दिएको कम्पनीहरुलाई थप ५५ हजार भाइल रेम्डेसिभिर खरिदका लागि अनुमति दिएको हो ।
विभागका सूचना अधिकारी एवं प्रवक्ता सन्तोष केसीले मुलुकमा बढ्दो कोरोना संक्रमणको दरसँगै गम्भीर प्रकृतिका बिरामीपनि बढ्न थालेपछि थप औषधि आयातका लागि अनुमति दिइएको बताए ।
हाम्रो डक्टर न्यूजसँगको कुराकानीमा उनले भारतले औषधि निर्यातमा रोक लगाएपछि बंगलादेशबाट थप ५५ हजार भाइल रेम्डेसिभिर खरिदका लागि अनुमति दिइएको बताए ।
उनले एक साता अघि ३० हजार भाइल खरिदका लागि अनुमति दिइएकोमा ती औषधि भोलिबाट क्रमशः नेपाल आइपुग्ने र शुक्रवार अनुमति दिएका औषधि पनि छिट्टै नेपाल आइपुग्ने जानकारी दिए ।
केसीका अनुसार गत साता र शुक्रवारको गरी जम्मा ८५ हजार भाइल रेम्डेसिभिर नेपाल आउन लागेको छ ।
यस्तै विभागले कोरोना संक्रमितको उपचारमा उपयोगी मानिएको टोसिलिजुमाव इन्जेक्सन पनि ल्याउनका लागि अनुमति दिएको छ ।
कोरोना संक्रमितको उपचारमा पछिल्लो समय प्रभावकारी मानिएको भन्दै अमेरिकी औषधि नियामक निकाय र विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त टोसिलीजुमाव इन्जेक्सन पनि प्रयोगका लागि आयात गर्न अनुमति दिएको केसीले बताए ।
उनले यतिकेम प्रा.लि.लाई २ हजार भाइल टोसिलीजुमाव इन्जेक्सन ल्याउन अनुमति दिइएको जानकारी दिए । यो इन्जेक्सनपनि एकदेखि दुई सातामा नेपाल आइपुग्ने उनको भनाइ छ ।