विपद्मा बाइपोलर
मन मिजासः
राम्रो नराम्रो, सुख दुःख, रिस राग, घृणा प्रेम, आनन्द, छट्पटी जस्ता अनुभूति, अनुभव, भावना वा चित्तवृत्तिलाई मूड, मनमिजास वा मनोभाव भनेर बुझिन्छ । मनभित्रको अनुभूति (mood) हावापानी जस्तो लामो समय र यसको बाहिरी अभिव्यक्ति (affect) भने मौसम जस्तै परिस्थिति अनुसार बदलिएर व्यक्तिको मुहार, विभिन्न अंगहरु र व्यवहारबाट अभिव्यक्त भइरहने गर्छ । समय परिस्थितिले हुने सुख, दुःख र रिस सबै खालका मनोभाव, मनमिजासमा व्यक्तिको नियन्त्रण रहन्छ र सम्हालिने गर्छ । यस्तो सामान्य र सन्तुलित मनोवस्था (euthymia) बाट रमाइलो, खुशी, उन्माद, उमंग, उन्माद वा रिसले उचालिने (elevated mood) तथा कहिलेकाहि“ दुःख, उदासिनता, बिरक्ति, दिक्दारीले ओरालिने (low mood) पनि गर्छ । सामान्यतया व्यक्ति आफ्नो भावना अनुभूत गर्न, व्यक्त गर्नसक्छ र हाउभाउ, व्यवहारमा अभिव्यक्त गर्छ । परिस्थिति अनुरुप ठिक माफिकमा अनुभूत हुने र व्यवहारमा झल्किने गर्छ । व्यक्तिले अनुभव गर्ने भावको सीमा व्यापक हुन्छ । मानिसको भावनाका अवस्था, प्रतिक्रियात्मकता, सीमा, परिस्थितिसँगको तादात्म्यता जस्ता विविध आयामहरुमा आउने परिवर्तित अवस्थाहरु मानव मन र जीवनका अभिन्न अंश हुन् । यद्यपि नियन्त्रणभन्दा पर जाँदा यस्ता परिवर्तित, बिकृत र असामान्य मनोवस्थाहरु मानसिक रोगका लक्षणकै रुपमा प्रकट हुने गर्दछन् ।
मनोभावका नियामक तत्त्वहरुः
एक ब्यक्ति कस्तो चित्तवृत्ति वा मनोभावमा रहन्छ भन्ने कुरा विभिन्न तत्वहरुमा निर्भर हुन्छ । जन्मजात नै वंशाणुगत रुपमा कसको कस्तो मूड रहन्छ भन्ने एक हदसम्म तय रहने देखिएकोछ; मानिसले जीवन, अनुभव र सिकाइबाट प्रभावित हुन अघि नै पनि मनोभाव एक व्यक्तिको हकमा लगभग निश्चित हुन्छ । जन्मजात् मान्छेमा आउने चार प्रमुख गुणवृत्तिहरुमा यो (mood) र यसको परिवर्तनशिलता वा स्थिरता (changeability and stability) पनि पर्दछ । त्यस्तै, मस्तिस्कको स्नायुरसायन, कार्यप्रणालीगत स्थिति, रचनागत अवस्था, वंशाणुगत पृष्ठभूमि, नशालु, विषालु तथा औषधिको असर, शरीरका अरु अंगका रोग तथा शरीर प्रक्रियाको समग्र स्वास्थ्यस्थिति जस्ता जैविक कुराहरुले मानिसको मूडमा निर्णायक प्रभाव राख्तछन् । त्यस्तै, व्यक्तिको तत्कालीन र दिर्घकालीन तनाव, तिनले व्यक्तिको मनमा राख्ने अर्थ, उपलब्ध साधनश्रोत, अरु मानिससँगको सम्बन्ध जस्ता मनोसामाजिक कुराहरु पनि अति महत्वपूर्ण र दृश्य तत्वहरु हुनेगर्दछन् । यी तत्वहरुले केहि समयको लागि प्रतिक्रियात्मक रुपमा मानिसको मनोभाव र मूडमा असर पारेर परिवर्तन गरिदिन्छन् । वास्तवमा, मनोसामाजिक र जैविक तत्वहरुको जटिल प्रतिक्रियाले गर्दा कुनै ब्यक्तिमा मूडमा मूलरुपमा असन्तुलन वा गड्बडी ल्याउने रोगहरु पनि उत्पन्न हुने हुन् । यस्ता भावनामा समस्या पैदा हुने मनोरोगहरु प्रवृत्तिगत वा व्यक्तित्वका गड्बडी (axis II, personality problems) र भावनागत मनोरोगहरु (mood disorders) गरी विविध खालका छन् ।
भावनाका मनोरोगहरुमध्ये बाइपोलरः
मूडका रोगहरु व्यक्तिको भावना, अनुभवमा नियन्त्रणै नरहने गरी लामो समय विभिन्न माहोल परिस्थतिमा प्रतिकूल प्रभाव पर्ने हिसाबले परिवर्तन भएको छ भने मानसिक समस्याले भएको हुनसक्छ । मानिसको भावनामा मूल रुपमा असर पार्ने रोगहरु मानव जातिलाई सताउने प्रमुख रोगहरुमध्ये अग्रपंक्तिमा रहेका छन् । उदासिन मनोरोग, जिर्ण उदासिनता र अस्थिर मनोभावको रोग, उन्माद, दुई ध्रुवीय भावनाको मनोरोग यस्ता रोगहरु हुन् ।
दुई ध्रुवीय भावनाको मनोरोग बाइपोलरमा कुनैबेला केही दिनदेखि केही महिनासम्मका लागि नियन्त्रणभन्दा बाहिर जाने गरेर व्यक्तिलाई अत्याधिक खुशी, आत्मविश्वास, तागत हुने तथा कुनै बेला दुःख, हीनता, उदासीनता, नातागत अनुभव हुने हुन्छ । व्यक्ति अत्याधिक खुशी वा रिसाहा हुने, फूर्तिलो हुने, धक्कू लगाउने वा मनोभाव उचालिने अवस्थालाई उन्माद (Mania) भनिन्छ । यसको ठीक उल्टो उदास हुने, नातागत हुने, बेसहारा, निरास, अर्थहीन सम्झी आत्महानिसम्मको बिचार आउने, स्मरण कम हुृने, आत्मविश्वास हराउने अवस्थालाई उदासीन मनोरोग (Depression) भनिन्छ । यो अवस्था उदासीन मात्र हुने मनोरोगको स्थितिभन्दा गम्भीरताको हिसाबले अझ बढी डरलाग्दो हुन्छ ।
यसरी, कुनैबेला भावना उचालिने र कुनैबेला खस्किने भएकोले यो रोगलाई चिकित्सा भाषामा Bipolar Mood/affective Disorder भनिन्छ । कसै कसैलाई दोहोरिएर उन्माद मात्र भएको पनि देखिन्छ । यस्ता लक्षणहरु उन्मादको अवस्थामा केही हप्तादेखि लिएर ६– ९ महिनासम्म र उदासीन अवस्थामा लगभग वर्ष दिनसम्म पनि रहिरहन सक्छन् ।
उन्मादका लक्षणहरु :
♦ अनियन्त्रित रुपमा अत्याधिक खुशी, उत्तेजना वा रिस,
♦ खुशी, दुःख वा रिसमा अकस्मात् परिवर्तन,
♦ मन अनियन्त्रित रुपमा चञ्चल हुनु, एकाग्रता नहुनु,
♦ छिट्छिटो, ठूल्ठूलो स्वरमा धेरै र अप्रासंगिक रुपले बोल्नु,
♦ शरीरमा अत्याधिक फूर्ति वा बल हुनु,
♦ निद्रा कम लाग्नु, कम सुते पनि स्फूर्ति हुनु,
♦ अत्याधिक यौन चाहना, विपरित लिङ्गीप्रति आकर्षित हुनु,
♦ आफ्नो क्षमताभन्दा ठूल्ठूलो योजना गर्न थाल्नु,
♦ आफू ठूलो, महान भन्ने भ्रम हुन थाल्नु,
♦ अनुचित निर्णय गर्नथाल्नु, जस्तै– आवेशमा काम छोड्नु,
♦ बढी धार्मिक वा खर्चालु हुन थाल्नु,
♦ लागूपदार्थ सेवन वा मद्यपान गर्न थाल्नु वा बढाउनु,
♦ मीठो मीठो खाना, राम्रो राम्रो लुगा खोज्नु ।
उदासीनताका लक्षणहरु :
♦ हप्तौं महिनौंसम्म मन उदास, दुःखी, व्यथित हुनु,
♦ शरीर नातागत हुनु, छिटो छिटो थाक्नु,
♦ रमाइलो कुरामा पनि मन रमाउन नसक्नु,
♦ निराश, बेसहारा, अर्थहीन महसूस हुनु,
♦ मृत्युको चाहना तथा आत्महानिको बिचार आउन थाल्नु, आत्महत्याको कोसिस गर्नु,
♦ ध्यान एकाग्र गर्न नसक्नु,
♦ आत्मविश्वासको कमी भई निर्णय गर्ने क्षमताको ह्रास हुनु,
♦ चिड्चिडाहट् हुनु,
♦ निद्रा नलाग्नु, चा“डो निद्रा खुल्नु वा कसै कसैलाई ज्यादा निद्रा लाग्नु, बिहान निद्रा खुल्दा ताजगी महसूस नहुनु,
♦ खाना नरुच्नु, तौल घट्नु,
♦ कसैकसैलाई शारीरिक रोग विना पनि थरिथरि शारीरिक लक्षणहरु देखिन्छन् ।
केही बिरामीहरुमा हु“दै नभएका कुरा सुन्ने वा देख्ने आभास भ्रम तथा असत्य कुरा वा सोचाइमा विश्वस्त हुने मति भ्रम देखा पर्दछन् । कसै कसैले आफूमा अरुभन्दा श्रेष्ठ, शक्तिशाली, दैवीशक्ति देख्न थाल्छन् । कसैकसैको व्यवहार र बोली बुझ्न गाह्रो पर्ने हुन्छ । यस्ता मिथ्या भ्रम, मिथ्या आभास वा अनौठा व्यवहारहरु गम्भीर अवस्थाका सूचक हुन् ।
यसको समयमै निदान भई उचित उपचार र ब्यवस्थापन हुन सकेन भने बिरामी आफू, तिनको परिवारजन र साथमा रहेका अरु मानिसहरु लगायत् वातावरण र धनजनमा समेत हानी, नोक्सानी, खति, बेचैनी र समस्याहरु उत्पन्न हुन्छन् । ब्यक्तिको मनोभावको अवस्था अनुसार रोगका लक्षणहरु हाबी भएको स्थितिमा गलत निर्णय, अस्थिर मनस्थितिका कारण सामाजिक, पेशागत, पारिवारीक, स्वास्थ्य हरेक आयाममा गम्भीर जटिलताहरु सिर्जना हुनसक्छन् । बिध्वंस, कलह, हिंसा, हत्या, आत्महत्यासम्म हुनपुग्छ । मनोरोगका कारण यस्ता मनोसामाजिक समस्याहरु (जानीबुझी वा नियतबस् नभई रोगजन्य मनोवस्था र दुर्घटनाबस्) अक्सर उत्पन्न हुन्छन् ।
बिपद्मा बाइपोलरः
तनाव र विपद्को अवस्थामा तनाव, परिस्थिति, ब्यक्तिको सामथ्र्य, उपलब्ध सहारा, साधनश्रोत अनुसार कतिपय मानिसलाई मनमा बेचैनी, पिर, सन्ताप परी मन र मिजास अस्थिर हुनजान्छ । विपद्को बेलामा निद्रा, अन्नपानी, ब्यायाम, दैनिकी बिथोलिने, पहिलेदेखि चलिआएका औषधीहरु पनि विभिन्न कारणले रोकिने जस्ता अवस्थामा मनोरोगहरु पनि बढेको देखिन्छ । यस कोविड महामारी र पहिलेका विपदहरु, जस्तैः महाभूकम्प, माओवादी युद्धकालमा मनोचिकित्सा सेवामा आएका र अनियन्त्रित भई भर्ना भएका बिरामीहरुबीच यस लेखकबाट भएका अध्ययनहरुबाट निस्केका तथ्यांकहरुमा यस्ता बेलामा बाइपोलरको समस्या अझ बढी भएको प्रष्ट देखिन्छ । यस्ता बेलामा उन्मादमा रहेका बिरामीहरुले त्यस्तो परिस्थितिलाई निष्कर्षमा पु¥याउने वास्तविक धरातलभन्दा उच्च र अस्वाभिाविक क्षमता, अस्तित्व र योजना भएको भ्रम र त्यसैअनुसारको ब्यवहार पनि देखाएका दृष्तान्त छन् ।
भगवानबुद्ध, राजा बीरेन्द्र, मदन भण्डारी, गिरिजाप्रसाद, प्रचण्डको रुपमा आफूलाई देशको विपद निवारण गर्ने ब्यहोरा माओवादी आन्दोलन ताका धेरै उन्मादमा रहेका मानिसले ब्यक्त गरेको देखियो भने अहिले कोरोना महामारीको समयमा अनियन्त्रित भई उन्मादमा आकस्मिक सेवामा ल्याइएका, भर्ती भएका कति यस्ता बिरामीहरुले आफूमा यस महामारी नियन्त्रण गर्ने अद्भूत सूत्र, उपाय वा उपचार आफूमा भएको भ्रम पनि ओकले । यस्ता मिथ्या र भ्रममा आधारित बेतूकका अनुपयुक्त ब्यवहारले बिरामी आफैं, परिवारजन, छरछिमेक, सहकर्मिहरुलाई समेत संक्रमणदेखि लिएर अनावश्यक दुःख, झमेला र समस्यामा पारेको देखियो । बाइपोलरको उदासिन अवस्था पनि वास्तवमा अझ गम्भीर हुन्छ र यसमा कतिपय आत्महानी र आत्महत्याका घटनाहरु घटे । बाइपोलरका सबैजसो असामान्य मनोवस्थामा नशालुपदार्थको सेवन पनि अस्वाभाविक हिसाबले हुनजान्छ र अरु जटिलताहरु थपिन्छन् ।
व्यवस्थापनः
उपयुक्त उपचार व्यवस्थापनका लागि थरिथरि सुरक्षित, प्रभावकारी र सुलभ औषधीहरुको विकास भएको छ । साथमा, यस्ता विरामीको व्यवहार र सोंच बिचारमा आउने बिकार हटाउने मनोवैज्ञानिक विधि, अरु मानिसस“गको सम्बन्धमा आउने समस्या हल गर्न सामाजिक र अन्तरसम्बन्धका तरीका लगायत विद्युतीय कम्प दिने उपचार विधिहरु अवस्था हेरी प्रयोग गर्न सकिन्छ । रोगका लक्षणहरु हाबी भएको अवस्थामा आवश्यकता अनुसार भर्ती गरी औषधी उपचार गर्नुका साथै बिरामी, परिवारजन, साथीभाईले रोगको बारेमा यथार्थ जानकारी लिन र उपयुक्त भूमिका निभाउन, त्यस उपरान्त पनि आवश्यक औषधी र फलोअप सुनिश्चित गर्न आवश्यक हुन्छ । लक्षण हराई ठीक भएको अवस्थामा आवश्यक साथ, सहयोग, सरसल्लाह दिएर बिरामीलाई पुनस्र्थापनमा सहयोग गर्न जरुरी हुन्छ ।
रोकथामः
परिस्थितिबस् व्यक्तिले गुज्रने भावनाका विविध सामान्य अवस्थाहरुबाट मानसिक रोगको लक्षणका रुपमा देखिने भावनाका गड्बडीहरु छुट्ट््याउनमा नै अक्सर चुक्ने हुन्छ । रोगकै रुपमा भावनाका गड्बडीहरु हु“दापनि जीवनको परिस्थिति वा समस्याप्रतिको प्रतिक्रिया होला भनेर जटिलता निम्त्याउनेहरु कम हु“दैनन् । उदासिन मनोरोगलाई जीवनको विषम परिस्थितिस“ग जोडेर उपचारमा ढिलाई गर्दा कतिपयले आत्महत्या गर्नपुग्छन् । उन्मादमा अनुपयुक्त निर्णय लि“दा वा कदम उठाउ“दा भरजन्म ग्लानि हुनेहरु पनि धेरै हुन्छन् । यसरी व्यापक रुपमा मानव जातिलाई सताउने यी रोगहरुको समयमै पहिचान भएको देखि“दैन । निदान नै भएको अवस्थामा पनि पर्याप्त मात्रा र अवधिका लागि उपयुक्त हिसाबले उपचार कम मात्र हुने गर्छ । मुख्य रुपमा आम मानिस र स्वास्थ्यकर्मिहरुमा पनि यसबारेमा जानकारी र चेतना कम भएकोले यस्तो भएको देखिन्छ ।
निको हुने भएपनि यो मनोरोग बारम्बार बल्झिरहने गर्छ । जति धेरैपटक बल्झिन्छ, उति अरु बल्झिने डर हुन्छ । तनाव र विपद्का बेला झन् बल्झिनसक्छ । बिरामीको लक्षण, गम्भीरता र अन्य कुराहरुको आधारमा केही वर्षदेखि लिएर जिन्दगीभर दबाइ खानुपर्ने हुनसक्छ । लक्षणहरु हराइसकेपछि पनि यसरी दबाइ खानुको उद्घेश्य यो रोग फेरि नहोस् भन्ने हो । औषधि उपचार यसको मूल उपाय हो । यसको अलावा मनोवैज्ञानिक उपचार, परामर्श तथा विद्युतीय कम्प उपचार विधिको उपयोग गर्नुपर्ने हुनसक्छ । यस्ता बिरामीले परिवारको निगरानीमा चिकित्सकको सल्लाह अनुसार नियमित र पर्याप्त औषधिको सेवन गर्नुपर्छ । आफैं दबाइ छोड्नु हु“दैन । बीचमा कुनै समस्या भएमा डाक्टरको सम्पर्कमा जानु र बोलाएको बेलामा फलोअपमा जानुपर्छ । निद्रा बिथोल्नु हुँदैन । नियमित समयमा सुत्नु र उठ्नुपर्छ । जाँडरक्सी, सूर्ती तथा लागूपदार्थको सेवन गर्नु हुँदैन ।
(डाक्टर शाक्य वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन्)
email- [email protected]