कोरोनाको संक्रमण थेग्न नसक्ने अवस्थामा, संक्रमितलाई बेड उपलब्ध गराउन सक्दैनौंः मन्त्रालय
काठमाडौं, १७ वैशाख । सरकारले कोरोना संक्रमितको उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने पंष्ट पारेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गर्दा अस्पतालमा बेडहरु भरिसकेको हुँदा बिरामीलाई बेड उपलब्ध गराउन सक्ने अवस्था नरहेको प्रष्ट पारेको हो ।
मन्त्रालयको स्वास्थ्य आपतकालिन इकाईका प्रमुख एवं सह प्रवक्ता डा. समिर कुमार अधिकारीले हाम्रो स्वास्थ्य प्रणालीले मुलुकमा बढ्दो कोरोनाको दर थेग्न नसक्ने अवस्थामा पुगिसकेको हुँदा सबैलाई सतर्क र सावधानी अपनाउन आग्रह गरेका छन् ।
काठमाडौं उपत्यकासहित सुनसरी, मोरङ, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला रहेको र यो अवस्था अन्य जिल्लामा पनि आउन सक्ने भएकाले सबैले सावधानी अपनाउन आग्रह गरिएको मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको डा. अधिकारीले बताए ।
मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र संवेदनशील बन्न सबैलाई अपील गर्दै अनावश्यक घर बाहिर ननिस्कन पनि भनेको छ ।