सुदूरपश्चिमका अस्पतालमा अक्सिजन अभाव, एकै दिन १५ जनाको मृत्यु



Download our app to get more features

धनगढी, १७ बैशाख । सुदूरपश्चिम प्रदेशमा बिहीबार १५ जना कोभिड संक्रमितले ज्यान गुमाउनु परेको छ। कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या प्रदेशमा अहिलेसम्मकै उच्च हो। प्रदेशका अस्पतालहरुमा कोभिडका बिरामीले भरिएका छन् तर उपचारमा जीवन रक्षक अक्सिजनको अभाव भएको बताइएको छ। 

अहिले अस्पतालहरुले अक्सिजन सपोर्टमा राख्नुपर्ने बिरामीलाई मात्रै भर्ना लिइरहेको पाइएको छ। यो अवस्थामा अक्सिजन आपूर्तिको भरपर्दो व्यवस्था नभएकै कारण संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै बिरामीका आफन्तले आक्रोश पोख्न थालेका छन्। यहाँका सेती प्रादेशिक अस्पताल, महाकाली र डडेल्धुरा अस्पताल बाहेक अन्य अस्पतालमा अक्सिजन उत्पादन गर्ने यूनिट जडान गर्नतर्फ सरकारी पक्षले समयमै ध्यान दिन नसकेको भन्दै आलोचना हुन थालेको छ।

धनगढीमा रहेको प्रदेशकै सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा ५० शय्याको कोरोना अस्थायी अस्पताल छ। तर यहाँ ६० जना कोभिड संक्रमित उपचाररत छन्। अस्पतालले शय्या क्षमताभन्दा बढी बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ। 
सेती प्रादेशिक अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समेत संक्रमण भएकाले अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा क्षमताभन्दा बढी बिरामी राख्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कोभिड अक्सिजनको सहज आपूर्तिको व्यवस्थापन गर्न हम्मेहम्मे भएको बताइएको छ। 

सामाजिक विकास मन्त्रालयको आँखा अगाडिको कोभिड अस्पतालमा समेत कोरोना फैलिएको झन्डै डेढ वर्ष हुँदा समेत अक्सिजन आपूर्तिको सहज व्यवस्था नहुँदा अस्पतालमा अक्सिजन सिलिण्डर बोकेर लैजानुपर्ने अवस्था छ। त्यहाँ अक्सिजन आउँदा बिरामीका कुरुवाहरुले लुछाचुडी गर्ने गरेको सेतीको कोभिड अस्पतालमा आमाको उपचार गराइरहेका एक कुरुवाले बताए।
सेती प्रादेशिक अस्पतालमा दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन क्षमता भएको उत्पादन यूनिट जडान गरिएको छ। त्यो यूनिटमा अहिले दैनिक ५० सिलिण्डर अक्सिजन मात्रै उत्पादन भइरहको अस्पतालले जनाएको छ। तर अस्पतालमा भने अहिले नै दैनिक १ सय ४० सिलिण्डर खपत भइरहेको छ। 

‘सेतीमा खपत हुने अक्सिजनको ठूलो परिमाण बाहिरबाट ल्याउनुपर्ने अवस्था छ’ अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘अहिले नै माग बढेको र अस्पतालमा उत्पादन समेत घटेको अवस्थामा बिरामीको संख्या समेत बढ्ने अवस्थालाई ध्यानमा राखी अस्पतालले तुरुन्तै ५० सिलिण्डर खरिद गर्न लागेको छ।’ 
कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा निकै कम दैनिक ५ सिलिण्डर मात्रै अक्सिजन ग्याँस उत्पादन गर्ने यूनिट रहेको छ। तर अस्पतालमा भने अहिले दैनिक १५ सिलिण्डर अक्सिजन खपत भइरहेको बताइएको छ। 

‘महाकाली अस्पतालमा दैनिक ५ देखि ६ सिलिण्डर अक्सिजन उत्पादन हुन्छ। अहिले नै अस्पतालमा दैनिक १५ सिलिण्डरको आवश्यक हुन थालेको छ’ महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डक्टर गोबीन्द रोकायाले  भने, ‘अस्पतालमा बिरामी बढ्ने निश्चित छ। अक्सिजन सपोर्टमा राख्नुपर्ने बिरामी झन बढ्नसक्ने कुरालाई ध्यानमा राखेर बजारमा अक्सिजन अन्य प्रयोजनका लागि नबेच्न अनुरोध गरिएको छ।” 
प्रदेश सरकार मातहत सञ्चालित पहाडी जिल्लामा रहेका अस्पतालहरुले अक्सिजन आपूर्तिका लागि धनगढी या नेपालगञ्जबाट लगिएका सिलिण्डरको भरपर्नु बाहेक अन्य विकल्प नभएको पाइएको छ। तर प्रदेश सरकारले भने अक्सिजनको आपूर्तिका लागि सिलिण्डर खरिदको प्रक्रिया अगाडि बढेको बताएको छ। 

‘हामीले प्रदेशमा अक्सिजन आपूर्तिका लागि  १ सय सिलिण्डर खरिद गर्ने र अस्पतालहरुलाई वितरण गर्ने भनेर प्रक्रिया अगाडि बढाइ सकेका छौँ’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘प्रदेशका पहाडी जिल्लाका अस्पतालहरुमा पनि अक्सिजन कन्सनटेटर छन्। अपुग भएमा त्यहाँ पनि अक्सिजन सिलिण्डर पठाउने व्यवस्था मिलाउछौँ।’ 

प्रदेशभर बिहीबार एकैदिन कैलालीका ६ जना, कञ्चनपुरका ५ जना, अछामका २, दार्चुलाका १ र बझाङका १ जना गरी कोभिडका कारण १५ जनाले ज्यान गुमाएका छन्। 
बिहीबार प्रदेशभर १७ जना निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोभिडको उपचारमा अक्सिजन थेरापी अपरिहार्य हुने भएपनि सुदूरपश्चिमका अस्पतालहरुमा भने बिरामीका आफन्तले आफैँ अक्सिजनको जोहो गर्नुपरेको बताएका छन्।

Last modified on 2021-04-30 16:59:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts