सङ्क्रमण धेरै भएका ठाउँमा निषेधाज्ञा, काठमाडौं उपत्यकामा थप कडाइ गर्न निर्देशन
काठमाडौं, १७ बैशाख । सरकारले निषेधाज्ञा लागू भएका ठाउँमा आदेशको पालना गर्न आग्रह गरेको छ । साथै आजदेखि काठमाडौं उपत्यकामा थप कडाइ गर्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयले ७७ वटै प्रशासनलाई परिपत्र गरी आदेश कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आदेशको पूर्ण पालना गरी अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरे । प्रवक्ता दाहालका अनुसार दाङमा आजदेखि निषेधाज्ञा लागू भएको छ ।
दाङमा आउँदो २५ गतेसम्म अत्यावश्यकबाहेकका सेवा सञ्चालन गर्न रोक लगाइएको छ । त्यस्तै पाल्पा र सुनसरीमा आज राति १२ बजेदेखि २४ गतेसम्म, जाजरकोटमा भोलि रातिदेखि २५ गतेसम्म तथा सल्यानमा आइतवार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुनेछ ।
कोरोना महामारी नियन्त्रण गर्न यसअघि काठमाडौं उपत्यकासहित बाँके, सुर्खेत, कास्की, कैलाली, कञ्चनपुर, पर्सा, चितवन र रुपन्देहीमा जिल्लाभर तथा बाग्लुङ, कालीकोट, बर्दिया र दार्चुलामा सङक्रमण धेरै भएका ठाउँमा निषेधाज्ञा लगाइएको छ ।
ती जिल्ला र ठाउँमा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवतजावतमा रोक लगाइएको छ । सरकारले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सय र हिमाली तथा पहाडी जिल्लामा २ सय सक्रिय सङ्क्रमित देखिए तत्काल निषेधाज्ञा लगाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । काठमाडौं हिजोदेखि निषेधाज्ञा लागू भएको छ ।
निषेधाज्ञाको दोस्रो दिन आज पनि काठमाडौं उपत्यकामा सुनसान छ ।