'बेपत्ता' भएका प्रदेश सांसद शाहीकाे काेराेना रिपाेर्ट शंकास्पद, सरकार कै रिपोर्ट दुई मिनेटमा दुई थरी



Download our app to get more features

कास्की, १६ वैशाख । गण्डकी प्रदेशका प्रदेशसभा सांसद खिम विक्रम शाहीको दुई थरी कोरोना रिपोर्टले सबैको ध्यान केन्द्रीत गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकै दुई थरी रिपोर्ट र एक निजी प्रयोगशालामा गरिएको कोरोना परीक्षण रिपोर्टले प्रश्न उठेको छ ।
 
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने कि नयाँ सरकार बन्ने छिनोफानोका लागि गण्डकी प्रदेशसभामा मतदान हुनु अगावै सांसद शाहीलाई कोरोना पुष्टि भयो भन्दै अस्पताल भर्ना गरियो । जबकी उनी बाहेकका ३ जना सांसदलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि हुनेमा राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङ रहेका छन् । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको एक रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ भने २ मिनेटपछि दिएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । एउटै रिपोर्टमा नमूना संकलन र रिपोर्ट आएको समयमा जम्मा दुई मिनेटको अन्तरले थप आशंका उत्पन्न भएको छ । 

त्यतिमात्रै होइन निजी प्रयोगशालामा लाइफ केयर डाइग्नोस्टिकको रिपोर्ट पनि कोरोना पोजेटिभ भएको छ । साथै सांसद शाहीको उमेर पनि फरक फरक उल्लेख छ । निर्देशनालय कै अंग्रेजी भाषामा दिईएको रिपोर्टमा ५० र नेपाली भाषामा दिईएको रिपोर्टमा ५१ वर्ष उमेर उल्लेख छ । निजीको रिपोर्टमा भने ५० नै उल्लेख छ ।

लाइफ केयरका डा. अमर नागिलाका अनुसार यो स्वाब मंगलबार फेवा सिटी अस्पतालबाट आएको थियो । उनले भने, ‘स्वाब लिँदा कसरी लिइयो, कसको लिइयो भन्ने हामीलाई थाहा भएन तर स्वाबको नतिजा पोजेटिभ आएको सबै प्रमाण हामीसँग छ ।’

सरकारी प्रयोगशालाबाट कसरी यस्तो त्रुटी भयो र वास्तविकता के हो रु कसरी निर्देशनालयले २ मिनेटमा फरक रिपोर्ट दियो भन्ने विषयमा बुझ्न खोज्दा प्रयोगशालाका निर्देशक डा.विनोदविन्दु शर्मासँग सम्पर्क हुन सकेको छैन भने निमित्त प्रमुख सपना सुवेदीपनि सम्पर्कमा छैनन् ।

Last modified on 2021-04-29 14:55:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts