सुदूरपश्चिममा कोभिड परीक्षण गराउनेको संख्या बढ्यो, बढेन प्रयोगशालामा जनशक्ति
धनगढी, १५ बैशाख । सुदूरपश्चिम प्रदेशमा बैशाख लागेसँगै स्वाब संकलन केन्द्रमा स्वाब दिन मानिसहरुको लाइन लाग्न थालेको छ।
प्रदेशमा स्थानीय तह र प्रयोगशालाहरुमा सिमित संख्यामा स्वाब संकलन भइरहेको छ। केही दिनदेखि कोभिड परीक्षण गराउन स्वाब दिन जाने मान्छे बढेपनि परीक्षण नतिजा आउन ढिलाइ हुन थालेको छ।
प्रदेशका अस्पतालहरुले शैय्या, अक्सिजन र उपकरण अभाव खेपिरहेका बेला प्रयोगशालामा समेत जनशक्ति आभाव देखिएको छ।
बैशाख लागेसँगै उकालो लागेको दोस्रो लहरको कोरोना संक्रमणको गति कहिले थामिने हो त्यो पत्तो छैन तर सुदूरपश्चिमका अस्पतालहरु भने दोस्रो लहरको कोरोनाले थलिन लागेको भन्दै चिन्ता गर्न थालिएको छ। प्रदेशभर शहरदेखि गाउँसम्म कोरोनाका बिरामी देखिने क्रमसँगै मृत्यु दर समेत बढ्न थालेको छ।
गाउँ शहर जताततै कोरोना संक्रमित देखिन थालेपछि परीक्षणका लागि स्वाब दिनेको संख्या समेत बढेको छ। तर सर्वसाधारणले भने स्वाब परीक्षणको नतिजा पाउन धेरै दिनसम्म कुर्नु परेको गुनासो गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का एक स्थानीयवासीले आफ्नो सम्पर्कमा आएका दुई जनामा कोरोना देखिएपछि आफूले पनि नगरपालिकामा गएर गत शुक्रबार स्वाव दिएको तर ५ दिनपछि मात्रै नतिजा पाएको बताए। ‘स्वाब दिएको ५ दिन पछि नतिजा पाए’ उनले भने ‘घरमै एकान्तवासमा बसेकाले ५ दिनसम्म कामकाज गर्न पाएन्। ल्याबमा फोन गर्दा समेत कसैको फोन उठेन।’
प्रदेशभर स्थानीय तह र प्रयोगशालामा समेत स्वाब संकलन भइरहेको अधिकारीहरुले दाबी गरेका छन्। स्वाब परीक्षण गरेर नतिजा सक्दो छिट्टै दिने गरेको प्रयोगशालाकर्मीले बताएका छन्। ‘गएको हिउँदमा सुस्ताएको कोरोना संक्रमण बैशाख लागेसँगै बढेपछि प्रयोगशालामा स्वाब परीक्षणको चाप बढेर दिनमा ४ सय बढी पुगेपनि परीक्षण नतिजा भने दोस्रो दिनमा नै दिने गरेको गरेका छौँ’ सेती प्रदेशिक अस्पतालका प्रयोगशाला इञ्चार्ज रमेश शाहीले भने, ‘गतवर्ष १२ जना थियौ यो वर्ष ४ जना मात्रै छौँ। त्यसैले परीक्षण गर्न अलि कठिन भने भएको छ।’
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा प्राविधिक जनशक्तिको अभाव रहेको छ। यो वर्ष सेती अस्पतालको प्रयोगशालामा मात्रै नभै महाकाली अस्पताल र प्रदेशमा रहेका ८ वटै प्रयोगशालामा जनशक्ति अभाव रहेको बताइएको छ।
अछामको कमलबजार र बझाङ जिल्ला अस्पतालमा रहेको प्रयोगशालमा भने परीक्षण नै हुन छोडेको छ। ‘प्रदेशका प्रयोगशालाहरुमा जनशक्ति अभाव छ। जनशक्ति व्यवस्थापन गर्न प्रयास भइरहेको छ। गत वर्ष भएका जनशक्ति यताउता भएका छन्’ प्रदेश प्रयोगशाला प्रमुख रामप्रसाद ओझाले भने, ‘यो विषयमा छलफल हुँदैछ। प्रयोगशाला पूर्ण क्षमतामा चलाउन सकिएको छैन।’
बैशाख मध्यसम्म आइपुग्दा प्रदेशभर कोरोना व्यापक फैलिएको आशंका गरिन थालेको छ। समुदायस्तरमा कोरोना देखिन थालेपनि प्रयोगशालामा भइरहेको जनशक्ति अभावले भने नमुना थन्किन थालेको बताइएको छ।
प्रदेशभर बैशाख ११ गते २ सय ८० नमुना परीक्षण भएको छ भने १२ र १३गते क्रमशः १ सय ३९ र २ सय ९० नमुना परीक्षण भएको छ। बैशाख १५ गते भने प्रदेशभर ५ सय ८३ नमुना परीक्षण गर्दा २ सय ८३ जनाका कोरोना पुस्टि भएको छ।