गण्डकी प्रदेश सभाका ३ जना सांसदमा कोरोना संक्रमण, रिपोर्ट भने दिउँसो मात्रै सार्वजनिक गरिने
पोखरा, १५ वैशाख । गण्डकी प्रदेश सभाका ३ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश सभाका एक जना सांसदले नाम नखुलाउने शर्तमा प्रदेश सभाका ३ जना सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको बताए । तर, स्वास्थ्य निर्देशनलायका सूचना अधिकारी नवराज शर्माले भने रिपोर्ट दिउँसो १ बजे मात्रै सार्वजनिक गरिने बताए ।
गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमाले सांसदहरुले कोरोना परीक्षण नगरी संसद राखिएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।
विशेष अधिवेशनको पहिलो दिन सोमबार एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पिसिआर परीक्षण माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाएका थिए ।
सभामुखले बैठक स्थगित गरेपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मंगलबार नै कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो ।
परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो ।
बुधबार सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी सदन डाकिएको छ ।