वीरगञ्जमा निशुल्क अक्सिजन बैंक स्थापना
वीरगञ्ज, १४ बैशाख । वीरगञ्ज महानगरपालिकामा निशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ । वीरगञ्ज महानगरपालिकाले लायन्स क्लबहरुसँग मिलेर निशुल्क अक्सिजन बैंक स्थापना गरेको हो ।
कोभिड–१९ संक्रमणबाट जोखिममा परेका नागरिकको जीवन रक्षाका लागि अक्सिजन बैंकको स्थापना गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । अक्सिजन बैंक स्थापनाका लागि लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर सिमरा, कलैया र गञ्जभवानीपुरले सहयोग गरेको छ ।
अक्सिजनको अभावमा कुनैपनि नगरबासीले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले निशुल्क रुपमा अक्सिजन वितरण गर्न लागिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । वीरगञ्जका अस्पतालहरुमा उपचाररत संक्रमितलाई अक्सिजनको अभाव हुने अवस्था आएमा महानगरपालिकाले निशुल्क उपलब्ध गराउने उनले बताए ।
अक्सिजन, अक्सिजनका लागि आवश्यक किट लायन्स क्लबहरुले निशुल्क रुपमा उपलब्ध गराउने लायन्स क्लब अफ वीरगञ्ज जोन चेयर पर्सन वीरगञ्जका संयोजक अनुप अग्रवालले बताए ।
अक्सिजन प्रयोग पछि सिलिण्डर भने अक्सिजन बैंकमा फिर्ता गर्नुपर्नेछ । वीरगञ्ज महानगरपालिकालाई रिफिलिङको चार्ज मात्रै लिने गरि वीरगञ्ज हेल्थ केयर हस्पिटलले १ सय ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो ।