थप १८ जनाको कोरोनाका कारण मृत्यु, संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या २ हजार नाघ्यो
काठमाडौं, १४ वैशाख । नेपालमा कोरोना संक्रमणका कारण आईसीयूमा उपचार गराउने बिरामीको संख्या बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालभर ३ सय १५ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ । यो संख्या सोमवारको भन्दा ४७ ले बढी हो । सोमवार देशभर २ सय ६८ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको थियो ।
यस्तै भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि बढेको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकामध्ये ८४ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ । यो संख्या सोमवारको भन्दा ६ ले बढी हो । सोमवार भेन्टिलेटरमा उपचार गराउने बिरामीको संख्या ७८ थियो ।
यस्तै गत २४ घन्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ०४ प्रतिशत हो ।
हाल नेपालभर रहेका सक्रिय संक्रमितमध्ये २३ हजार ३ सय ५२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८ सय ७३ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।