वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमित बिरामीको उपचार गर्ने विषयमा पहल थालियो
काठमाडौं, १४ वैशाख । कोरोना संक्रमणको दर बढ्दै गर्दा वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमित बिरामीको उपचार गर्ने तयारी अघि बढेको छ ।
काठमाडौं उपत्यका पछिल्लो समय फेरी कोरोना संक्रमणका कारण जोखिममा पर्दै गएकोले वीरको नयाँ भवनमा कोरोना संक्रमित बिरामीको उपचार गर्ने तयारी स्वरुप काम अघि बढाइएको छ ।
अस्पतालका कोभिड संयोजक डाक्टर अच्युत कार्कीले अस्पताल निर्माणको काम अझै जारी रहेकाले नयाँ सर्जिकल ब्लकमा कोभिडका मात्रै बिरामी राख्ने गरी काम अघि बढाइएको हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले नयाँ भवन हस्तान्तरण गरेपछि २ सय बेड कोरोना संक्रमितका लागि छुट्याएर उपचार थालिने पनि उल्लेख गरे ।
५ सय शय्याको अस्पतालमा कम्तिमा २ सय शय्या कोरोना संक्रमितका लागि छुट्याइने भन्दै डा. कार्कीले अस्पताल हस्तान्तरणको विषयमा माथिल्लो तहबाटै कुराकानी भइरहेको जानकारी दिए ।
नयाँ भवनमा कहिलेबाट कोरोना संक्रमितको उपचार सुरु हुन्छ ? भन्ने विषयमा वीरका निमित्त निर्देशक सान्ता सापकोटाले अस्पतालको भवन हस्तान्तरण गर्न ४÷५ महिना समय लाग्ने भन्दै बनिसकेको भवन हस्तान्तरण गर्नका लागि पहल भइरहेको बताइन् ।
उनले मुलुकमा बढ्दो कोरोना महामारीलाई ध्यानमा राखी नयाँ भवनको निर्माण सम्पन्न भइसकेको भवनमा कोरोनाको उपचार सुचारु गर्नु पर्ने विषयमा ठेकेदार र मन्त्रालयमा छलफल भइरहेको बताइन् ।
उनले छिटो भन्दा छिटो कोरोनाको उपचार सुरु गर्ने विषयमा कुरा अघि बढ्दै गर्दा चाहिने आवश्यक जनशक्ति व्यवस्थापनका लागि पनि कुराकानी भइरहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘बेड हाल्ने, आईसीयू र भेन्टिलेटर जडान गरेर सेवा सुचारु गरिने हुँदा त्यसका लागि चाहिने आवश्यक जनशक्तिको विषयमा पनि कुराकानी हुँदैछ । हामी सक्दो छिटो उपचार सेवा सुचारु गर्छौ ।’
‘नयाँ भवन अत्याधुनिक सेवासहितको हुँदा बिरामीको उपचारमा समस्या हुँदैन । हाइ डिपेन्डेन्सी युनिटसहितको सुविधा रहेको नयाँ भवनमा कोरोना बिरामीको उपचार सहज हुने भएकाले छिटो भन्दा छिटो काम सक्नका लागि ठेकेदारलाई भनिएको छ ।’ सापकोटाले भनिन् ।
वीर अस्पतालमा हाल कोरोनाका लागि ७६ बेड छुट्याइएको छ ।