बेलैमा उपचार नगरे ठुलो समस्या बन्छ एपेन्डिसाइटिस

What's This?


Download our app to get more features

मानिसको दाहिने कोखा भन्दा अलिकति तल रहने एपेन्डिक्स भन्ने एउटा पाइपजस्तो अङ्ग जुन कुनै पनि कारणले सुन्निन गएको आकस्मिक अवस्थालार्ई एपेन्डिसाइटिस भनिन्छ ।

यसको ल्युमेन (मुखद्धार) बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थालेपछि सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यसैकारण शरीरमा एपेन्डिसाइटिस हुन्छ ।

सन् १८८६ मा रेगिनाल्डले पहिलोपटक एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएका यो रोग पश्चिमी मुलुकमा बढी देखिएको छ । यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको छ ।

आकस्मिक रुपमा समयमै यो रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने बिरामीको मृत्यु हुन पनि सक्छ । विभिन्न भाइरसका संक्रमणले एपेन्डिक्सको कोष सुन्निन्छन् । यसरी सुन्निएको कोषमा ब्याक्टेरिया जस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले एपेन्डिक्सको कोषलाई थप संक्रमण गर्दछन् ।

रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक हुन सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम हुन्छ भने अर्को एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन अधिकांस मानिसमा चाँडै फुट्ने गर्छ ।

मुख्य कारण
शरीरको ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको संक्रमण गराउन सक्दछ । एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो ।
कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्याधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ ।

एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठुलो हुँदै आफ्नो आकारमा वृद्धि भएर रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ ।

यदी पेरिटोनियम पनि फुटेमा आन्द्रा भित्रको गुह्य तत्व बहिर निस्कन्छ अनि जटिल प्रकारको संक्रमण हुन्छ । कहिले कही आन्द्राको वरिपरी आएर आन्द्रा वरिपरी रहेको ओ मेन्टअ्म भन्ने बोसोले ढाकेर संक्रमण हुनबाट रोक्छ । यसलाई अप्पेन्डिकुलर लम्प भनिन्छ । यसले पीपलाई अनेत्र सर्नबाट रोक्छ । अस्तो भएमा तुरुन्त शल्यकृया गर्न पर्दैन । तर चिकित्सकको प्रत्यक्ष निग्रानीमा रहनुपर्छ । अनि बिस्तारै संक्रमण निर्मुल भएपछि शल्यक्रिया  गर्नुपर्छ ।


लक्षणहरु
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२.वान्ता हुनुः एक वा दुईपटक वान्ता हुन सक्छ ।
३. साधारणतया सय डिग्रीसम्म ज्वरो देखिन्छ ।
४. पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।

स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउँछन् । एपेन्डिसाइटिस पत्ता लगाउन अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान गर्नुपर्छ । विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ ।

उपचार
शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को उपचारको विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने पेटमा रहेको आमाशयको सानो र ठुलो आन्द्रालगायतलाई ढाकेर राख्ने पेरिटोनियम तन्तुको एक तहलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा संक्रमण शरीरभरी फैलिएर बिरामीको मृत्यु हुन पनि सक्छ ।

पिसाबको संक्रमणको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ । भिडियो एक्सरे   (अल्ट्रासाउण्ड)बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ । तर, करिव १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले आन्द्रामा दिसा वा ग्याँस भरिंदा शुरूको अवस्था फेला नपर्न सक्छ ।

यो समस्याबाट ज्यान जान सक्ने भएकाले रोग निदान नभएसम्म पीडा कम हुने औषधि सेवन गर्नु हुँदैन । एक्सरे र इमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानु पर्छ ।

एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) उपचार गरी केही दिनको आरामपछि निको हुन्छ ।
 
छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ । त्यस्तो परिस्थितिमा औषधि मात्र खाएर निको पार्नुपर्ने बाध्यता पर्न सक्छ । त्यस्तो बेला निको हुन समय लाग्ने भएकाले फुट्ने खतरा हुन्छ । एपेन्डिक्स फुटेमा उपचारमा झन् जटिलता थपिन्छ ।

(वीर अस्पतालका जनरल सर्जन डा. इन्द्रकुमार झासँग गरीएको कुराकानीमाआधारित)

 

Last modified on 2016-03-22 14:32:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts