नेपालमा लगातार दोस्रो दिन ३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
सक्रिय संक्रमितको संख्या २२ हजार नाघ्यो
काठमाडौं, १३ वैशाख । नेपालमा लगातार दोस्रो दिन ३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । यसअघि आइतबार पनि नेपालमा हजार १ सय २२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १३ हजार २ सय ९३ कोरोना परीक्षण गरिएको छ । जसमा १२ हजार ४ सय आरटी पिसिआर परीक्षण गर्दा ३ हजार ४ सय ४१ र ८ सय ९३ एन्टीजेन परीक्षण गर्दा १ सय १४ जनामा कोरोना संक्रमणको पष्टि भएको हो ।
मन्त्रालयका अनुयार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।
यस्तै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९१ प्रतिशतमा झरेको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ३ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ । यो दर कुल संक्रमितको ९१ दशमलव ५ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ रहेको छ ।