वैशाख मसान्तसम्म देशव्यापी लकडाउन गर्न सरकारसमक्ष सीसीएमसीको सिफारिस
आजको मन्त्रीपरिषद बैठकले अन्तिम निर्णय गर्ने
काठमाडौं, १३ वैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वैशाख मसान्तसम्म देशव्यापी लकडाउन गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
आइतवार बसेको सीसीएमसीको बैठकले मुलुकमो बढ्दो कोरोनाको दोस्रो लहरले अवस्था भयावह बन्न सक्ने भन्दै वैशाख मसान्तसम्म लकडाउन गर्न सिफारिस गरेको हो ।
बैठकले देशव्यापी लकडाउनमा नजाने भए निषेधाज्ञामा जान पनि सुझाव दिएको छ ।
सीसीएमसीले गरेको सिफारिस आजको मन्त्रीपरिषद बैठकमा पेस हुने छ । आज बस्ने मन्त्री परिषदको बैठकमा सरकारले अन्तिम निर्णय गर्ने बताइएको छ ।
सीसीएमसीका सचिव डा.खगराज बरालले कोरोनाको दोस्रो लहरले अवस्था भयावह बन्न सक्ने आँकलन गर्दै सरकारलाई कम्तिमा ३ साताका लागि देशव्यापी लकडाउन गर्न बैठकले सिफारिस गरेको र प्रस्ताव आज मन्त्रीपरिषदमा पेस हुने बताए ।
यस्तै बैठकले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरिएको बरालले बताए ।
जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको उनको भनाइ छ ।
बैठकले नेपाली सेनालाई विदेशबाट आउने व्यक्तिहरूलाई राख्नका लागि ८ वटा स्थायी प्रकृतिका क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मेवारी दिन पनि सरकारलाई सिफारिस गरेको छ ।
भारत र अन्य मुलुकबाट आउने व्यक्तिहरूलाई राख्नका निम्ती ८ वटा विभिन्न स्थानमा क्वारेन्टाइन सेन्टर स्थापना गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गर्नका लागि सरकारलाई सिफारिस गरेको बरालले बताए ।
यो विषयमा पनि आजको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने छ ।
कोरोना संक्रमण बढेसँगै विदेशबाट स्थलमार्थ र हवाइमार्ग हुँदै नेपाल आउनेको संख्या बढेकाले सेनालाई स्थायी प्रकृतिका सेन्टर स्थापना गर्ने जिम्मेवारी दिन सिफारिस गरिएको हो ।
यसैबीच, सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । सीसीएमसीको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. बरालले जानकारी दिए ।