एकैदिन ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ९२ प्रतिशतमा झर्यो
काठमाडौं, १२ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ३ हजार १ सय २२ नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख नाघेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ९ हजार २ सय ९२ आरटी पिसिआर परीक्षण गर्दा ३ हजार ३२ र ७ सय ८६ एन्टीजेन परीक्षण गर्दा ९० जनामा कोरोना पोजेटिभ देखिएको बताए ।
उनले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३ लाख २ सय ९ पुगेको पनि जानकारी गराए ।
यस्तै गत २४ घन्टामा थप ४ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३ पुगेको छ । यो दर कुल संक्रमितको ९२ दाशमलव ५ प्रतिशत हो ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ रहेको छ ।