‘मास्क नलगाउने व्यक्तिका समाचार नदिनुहोस्’
काठमाडौं, १२ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुरक्षा सावधानीका उपाय पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । आइतवार मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै मास्कको प्रयोग गर्न र स्वास्थ्य सावधानीका उपाय अपनाउनेतर्फ संवेदनशील हुन आग्रह गरेको हो ।
मन्त्रालयले कोभिड–१९ महामारीसँग जुध्नका लागि सञ्चारकर्मी तथा सञ्चारमाध्यमले सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह गरी सङ्क्रमण रोकथामका भूमिका निर्वाह गरेको भन्दै धन्यवाद पनि दिएको छ । साथै अबका दिनमा सञ्चारमाध्यम झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नुपर्ने अवस्था आएको मन्त्रालयले बताएको छ ।
समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । साथै मन्त्रालयले मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिन पनि आग्रह गरेको छ ।