नारायणी अस्पतालका मेसु सम्पर्कबिहीन, अस्पतालको व्यवस्थापनमा समस्या



Download our app to get more features

काठमाडौं, १२ वैशाख । कोरोना महामारीको दोस्रो लहर नेपालमा सुरु भएपछि पर्सा जिल्ला फेरि हट स्पट बनेको छ ।

खुला सीमानाका र सर्वसाधारणको लापरबाहीका कारण कोरोना भाइरसले गर्दा पर्साको अवस्था गम्भीर स्थितिमा पुग्न लागेको छ ।

दैनिक संक्रमण दर बढ्दै गरेको र अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्या पनि बढ्दै गर्दा मृत्यु हुने दर पनि बढ्न थालेको छ । तर, स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म कसैले पर्साको कोरोना महामारीबारे कुनै चासो दिएको देखिँदैन ।

केन्द्र मातहतमा रहेको नारायण अस्पतालमा रहेका सबै बेडहरु बिरामीले भरिसकेका छन् भने निजी र अन्य अस्पतालमा पनि कोरोनाका गम्भीर बिरामीले भरिन थालेको छ । तर, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. सञ्जय ठाकुर सम्पर्क बाहिर छन् । 

केन्द्र मातहतको अस्पताल भएकाले डा. ठाकुरले मुख्य भूमिका निर्वाह गर्दै अस्पतालमा व्यवस्थापन गर्नुपर्नेमा उनी आफै सम्पर्कबिहीन हुँदा अस्पतालको अवस्था झनै बिग्रिदो छ ।

डा. सिंहले सुरुको समयमा जसरी नेपाली सेना, केन्द्र र प्रदेश सरकारले कोरोना महामारी विरुद्ध सक्रियता देखाएको थियो त्यसरी अहिले कुनै निकायले सक्रियता नदेखाउँदा अबको एक सातामा यहाँको अवस्था कस्तो हुन्छ भनेर कसैले कल्पना समेत गर्न नसक्नले उल्लेख गरे ।

अस्पतालका डा. उदय नारायण सिंहले कोरोना महामारीको यस्तो अवस्थामा मेसु नै सम्पर्क बाहिर हुँदा काम गर्नदेखि हरेक कुरामा समस्या भइरहेको बताए ।

उनले मेसुलाई सम्पर्क गर्न अनेक प्रयास गर्दापनि सम्पर्क हुन नसकेको भन्दै सर्जिकल क्षेत्रका व्यक्तिलाई जिम्मेवारी दिँदा समस्या झन् बढेको गुनासो गरे ।

अस्पतालमा कार्यरत अर्का डा. निरज कुमार सिंहले पनि कोरोनाले गर्दा अवस्था गम्भीर बनेको बेला मेसुले सब छोडेर जाँदा काम गर्न र व्यवस्थापन गर्न समस्या भइरहेको सुनाए ।

नारायणी अस्पतालमा पर्सा मात्रै नभई अन्य जिल्लाका पनि बिरामी आउने हुँदा उनीहरुको व्यवस्थापन, औषधि र अन्य व्यवस्थापनका लागि मेसु नै नहुँदा हामी अभिभावकबिहीन भएर काम गर्नुपरेको उनको गुनसो छ ।

हामीले डा. ठाकुरलाई सम्पर्क गर्दा उनको मोबाइल अफ बताएको छ । 

नारायणी अस्पताल कोरोना महामरी सुरु भएदेखि नै कोरोना संक्रमितको उपचारमा खटेपनि अहिलेको अवस्थामा कमजोरी देखिदा समस्या भएको देखिन्छ ।

Last modified on 2021-04-25 13:40:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts