सन् २०२५ भित्रै औलो निवारण गर्ने गरी नीतिगत प्रयासमा सरकार सक्रियः मन्त्री त्रिपाठी



Download our app to get more features

काठमाडौं, १२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले सरकारले औलो निवारणका लागि गरेका प्रयासहरु सफल हुँदै गएको भन्दै खुशी व्यक्त गरेका छन् ।

विश्व औलो दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले सरकारले सन् २०२५ सम्म औलोलाई शून्यमा झार्ने लिएको लक्ष्य विस्तारै पूरा हुँदै गएको बताएका छन् ।

उनले सन् १९८० को दशकमा नेपालमा महामारीको रुपमा रहेको औलो हालका वर्षहरुमा उन्मुख रहेको भन्दै सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्यमा बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफल भएको उल्लेख गरेका छन् ।

दिगो विकास लक्ष्य अनुसार सनु २०३० सम्म औलो रोगलाई अन्त्य गर्नुपर्ने लक्ष्य रहेतापनि नेपालले सन् २०२५ भित्रै औलो निवारण गर्ने गरी नीतिगत, संस्थागत र कार्यक्रमगत प्रयासहरु गरिरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

उनले कोरोना महामारीका कारण सरकारले लिएको लक्ष्यमा चुनौती देखिएपनि यसका लागि सबै निकाय एक जुट भएर लाग्नु पर्ने र स्रोत साधनको भरपुर प्रयोग गर्नुपर्ने पनि बताए ।

मन्त्री त्रिपाठीले शून्य औलो बिरामी बनाउने सरकारको घोषित लक्ष्य प्राप्तिमा अर्थपूर्ण सहभागिता जनाउनका लागि सरकारी, गैर सरकारी तथा निजी संघसंस्था र आम नागरिकलाई आह्वान गरे ।

उनले तोकिएको समय भित्र नै औलो निवारण गरी विश्व समुदाय माझ मुलुकको छवि उच्च बनाउन शीघ्र सफलता प्राप्त हुन सकोस् भन्ने कामना पनि गरेका छन् ।

Last modified on 2021-04-25 12:07:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts