उकालो लाग्दै कोरोना संक्रमणको दरः थपिए २६ सय १९ नयाँ संक्रमित, ३ सय ६८ जना स्वस्थ
काठमाडौं, ११ वैशाख । नेपालमा कोरोना संक्रमणको दर दिन प्रतिदिन उकालो लाग्दै गएको छ ।
सरकारले आँकलन गरे अनुसार नै नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ भने निको हुने दर घट्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा मात्रै देशभर २६ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ८ हजार ६ सय ६८ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ५ सय २५ आरटी पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ८६ र १ हजार १ सय ४३ एन्टीजेन परीक्षण गर्दा १ सय ३३ जना गरी जम्मा २ हजार ६ सय १९ जनामा कोरोना पोजेटि देखिएको छ ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये १ लाख ५ हजार ३ सय ४८ महिला र १ लाख ९१ हजार ७ सय ३९ जना पुरुष रहेका छन् ।
यस्तै गत २४ घन्टामा थप ३ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । यो दर कुल संक्रमितको ९३ दशमलव ३ प्रतिशत हो ।
हाल नेपालभर रहेको कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ रहेको छ ।