रुपन्देही र बाँकेमा गरी थप ६ जना कोरोना संक्रमितको मृत्यु
रुपन्देही, ११ वैशाख । लुम्बिनी प्रदेशको बाके र रुपन्देही जिल्लामा गरी थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जसमा ४ जना बाँके र २ जना रुपन्देहीका छन ।
बाँकेको भेरी अस्पताल नेपालगञ्जमा उपचाररत ६१ र ७५ वर्षीया महिला तथा ८६ र ३५ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरू चारैजना नेपालगञ्जकै रहेको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।
उनीहरूको मृत्युसँगै बाँकेमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।
मृतकहरूको शव नेपाली सेनाको समन्वयमा परिवारबाट दाहसंस्कारको व्यवस्था हुँदै गरेको फोकलपर्शन ओलीले बताए ।
यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का ३६ वर्षीय कोभिड संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । चैत ३० गते कोभिड संक्रमण पुष्टि भएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।
उनको उपचारका क्रममा शुक्रवार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै रुपन्देहीको मंगलापुर घर भएका ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको बुटवलको मेडिटेक अस्पतालबाट रिफरगरि चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।