बाँकेमा कोरोनाका कारण उपचारमा समस्या हुन थालेपछि काठमाडौंबाट विज्ञ टोली जाँदै
काठमाडौं, ११ वैशाख । बाँकेमा कोरोना संक्रमणले स्थिति नियन्त्रण बाहिर गएको भन्दै काठमाडौंबाट विज्ञसहितको टोली जान लागेको छ ।
कोरोना संक्रमितको उपचारमा देखिएको समस्या र समाधानका बारेमा अध्ययन गर्न स्वास्थ्य तथा मन्त्रालयको विज्ञ टोली आज नेपालगञ्ज जान लागेको हो ।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीको नेतृत्वमा विज्ञ टोली त्यसतर्फ जान लागेको हो ।
डा. लोहनीले बाँकेमा रहँदा कोरोना संक्रमितको उपचारमा देखिएको भौतिक, आर्थिक समस्या, सीमा नाकामा भएको जाँच र समस्या, जनशक्ति व्यवस्थापन लगायतका पक्षमा अध्ययन गरी आवश्यक निर्णय गरिने हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनका अनुसार पछिल्लो समय बाँकेमा कोरोनाका कारण गम्भीर बिरामी र संक्रमित दर बढ्न थालेपछि समस्या भएको जानकारी आएकाले त्यसतर्फ विज्ञ टोली जान लागेको हो । बाँकेमा २ हप्ता विज्ञ टोलीले अध्ययन गर्ने र सोही अनुसारको व्यवस्थापन गरिनेछ ।
उनले भने, ‘बाँके कोरोना महामारीका कारण सुरुदेखि नै जोखिमयुक्त क्षेत्र हो । खुला सीमा नाका र अन्य विभिन्न जिल्लाबाट पनि बिरामीहरु आउने हुँदा अस्पतालहरुमा समस्या हुनु स्वभाविक भएकाले त्यसको समाधानका लागि हामी त्यसतर्फ जान लागेका हौं ।’
यसैबीच, बाँकेमा कोरोना सङ्क्रमितको उपचार व्यवस्थित बनाउन २ सय शय्या थप गर्ने भएको छ । शुक्रवार जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा बढ्दो कोरोनाको जोखिम र बिरामीलाई भएको समस्यालाई ध्यानमा राखी २ सय शय्या थप गर्ने निर्णय गरेको हो ।
समितिका प्रमुख तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा शय्या थप गर्ने, उपचारमा खटिने जनशक्ति प्रदेश र सङ्घ सरकारसँग माग गर्ने तथा आवश्यक पर्ने रकम जोहो गर्ने निर्णय भएको बताए ।