बाल अस्पताल बनाउनका लागि डा. कोइरालालाई सूर्य नेपालको आर्थिक सहयोग
काठमाडौं, १० वैशाख । काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थलाई चुरोट कम्पनी सूर्या नेपालले आर्थिक सहयोग गर्ने भएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताललाई सूर्य नेपालले ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्न लागेको हो ।
बिहीवार अपरान्ह काठमाडौंमा आयोजित सहयोग आदानप्रदान सम्बन्धी सम्झौत पत्रमा अस्पतालका तर्फबाट डा. कोइराला र चुरोट कम्पनीका तर्फबाट सूर्य नेपालका उपाध्यक्ष रबी केसीले हस्ताक्षर गरेका छन् ।
डा. कोइरालाले आफ्नो अगुवाईमा बनाउन लागेका बाल अस्पतालका लागि सूर्य नेपालले संस्थागत उत्तरदायित्व अन्तरर्गत ५ करोड रुपैयाँ दिन लागेको बताए ।
उनले उक्त रकमबाट बन्ने भवनमा सूर्य नेपालको नाम रहने समेत स्पष्ट पारे ।
पछिल्लो समय नेपालमा सूर्य नेपालले स्स्वास्थ्य क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ । कोरोना महामारीको बेला लकडाउनको समयमा पनि सूर्य नेपालले केन्द्रदेखि प्रदेश सरकारलाई करोडौं आर्थिक सहयोग गरेको थियो ।
जबकी नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ऐन २०६८ को दफा १० मा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रायोजन गर्न नपाइने व्यवस्था छ । तर, सरकार लगायत सरोकारवालाको यसमा ध्यान पुगेको छैन ।