रुपन्देहीमा २४ घन्टामा २ सय २७ नयाँ संक्रमित थपिए
रुपन्देही, १० वैशाख । रुपन्देहीमा पछिल्लो २४ घन्टामा २ सय २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार ९९ महिला र १ सय २८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार शुक्रवार नयाँ थपिएका संक्रमितमध्ये बुटवल उपमहानगरका मात्रै १ सय १५ जना रहेका छन् ।
यस्तै तिलोत्तमा नगरपालिकामा ४३ जना, सिद्धार्थनगरमा ४० जना कोरोना संक्रमित थपिएको डा गिरीले बताए ।
लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अगुवाई गरिरहेको बाँकेलाई उछिन्दै रुपन्देहीले बिहीवार कोरोना संक्रमित थप्ने कार्यमा नयाँ ब्रेक गरेको छ ।
रुपन्देहीमा अहिले सम्ममा कोरोना संक्रमणका कारण १ सय ६५ जनाको मृत्यु भएको छ भने अहिले जिल्लामा ८ सय ११ जना होम आईशोलेसनमा रहेका छन् ।
संक्रमित थपिएसँगै रुपन्देहीको कोरोना विशेष अस्पताल र भिम अस्पतालका सबै बेडहरु भरि भराउ भएको लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालले जनाएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकृत डा. विष्णु गौतमका अनुसार रुपन्देहीमा रहेको २२ वटा आईसीयू सबै भरिएको बताए ।
बुटबलमा रहेको कोरोना विशेष अस्पतालको १३ वटा आईसीयू बेड सबै भरिएका छन् भने भिम अस्पतालको ९ वटा बेड पनि भरिएका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा आएका गम्भिर प्रकृतिका संक्रमितलाई फिभर क्लिनीकमा सेवा दिईएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।