सरकार लकडाउनको पक्षमा नरहेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न मन्त्री त्रिपाठीको आग्रह

काठमाडौं, ७ वैशाख । सरकारले मुलुकमा बढ्दो कोरोनाको जोखिमलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ ।
कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारण नागरिकलाई जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न र गराउन आग्रह गरेको हो ।
कोरोना महामारी सुरु भएदेखि नै मन्त्रालयले बारम्बार जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गर्दै आएकोमा मंगलवार स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले पनि आग्रहलाई दोहोर्याएका छन् ।
मन्त्रालयले मंगलवार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सार्क मुलुक र छिमेकी मुलुक भारतमा कोरोना महामारीले भयावह रुप लिँदै गरेको र त्यसको असर नेपालका छिमेकी जिल्लाहरुमा पनि देखिन थालेकाले यसलाई सामान्य रुपमा नलिन आग्रह गरे ।
उनले भने, ‘कोरोनाले कतिसम्मको प्रभावित बनाउन सक्छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ । तर, सामान्य लापरबाहीले स्थिति भयावह बन्न सक्छ । तसर्थ यसबाट जोगिनका लागि विश्व स्वास्थ्य संगठन र सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डलाई लागू गरिदिनुहोला । अन्यथा नेपालको स्थिति पनि भयावन बन्दै जान्छ ।’
कोरोनाको दोस्रो लहरसँगै देखिएको भारतीय भेरिएन्ट अझ बढी खतरनाक रहेकाले सरकारले त्यसका लागि चाहिने आवश्यक तयारी गरेको भन्दै मन्त्री त्रिपाठीले सरकारले गर्ने काम गरिरहेपनि सर्वसाधारण नागरिकले भने त्यसलाई सामान्य रुपमा लिनु उचित नभएको बताए ।
सरकार लकडाउन गर्ने पक्षमा नरहेको भन्दै यदि जनस्वास्थ्यका मापदण्ड लागू गरिएन र गराइएन भने लकडाउनको विषयमा सोच्नुपर्ने उनको भनाइ छ ।
मन्त्री त्रिपाठीले कोरोनाविरुद्धको यस लडाईमा सबैको साथ र सहयोगको आवश्यकता भएकाले हातेमालो गरेर अघि बढ्नुपर्छ भन्दै हेलचेक्र्याइँले अवस्था गम्भीर मोडमा पुग्ने भएकाले सचेत रहन पनि आग्रह गरे ।