नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार नाघ्यो, ७ हजारभन्दा बढी सक्रिय संक्रमित
काठमाडौं, ६ वैशाख । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १२ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा देशभर ७ हजार ५ सय ४८ परीक्षण गरिएको छ । जसमा ७ हजार १ आरटी पिसिआर परीक्षण गर्दा १२ सय २७ र ५ सय ४७ एन्टीजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।
यस्तै गत २४ घन्टामा २ सय ५५ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ । यो दर कुल संक्रमितको ९६ दशमलव ४ प्रतिशत हो ।
हाल नेपालभर ७ हजार २ सय ५४ सक्रिय संक्रमित रहेका छन् ।