नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ८३, १० जना ५ वर्ष मुनिका बालबालिका
काठमाडौं, ५ वैशाख । नेपालमा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ८ प्रतिशत हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाएकामध्ये १० जना ५ वर्ष मुनिका बालबालिका रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय नेपालमा बालबालिकामा पनि कोरोना संक्रमणको दर बढेकोले सबैलाई सचेत रहन आग्रह गरे ।
डा. गौतमका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण ३ हजार ५ सय ६५ जना ५ वर्ष मुनिका बालबालिका संक्रमित भएका छन् । जसमा १० जनाको मृत्यु भइसकेको छ भने ५१ जना उपचाररत रहेका छन् ।
यस्तै हाल नेपालभर रहेका संक्रमितमध्ये १ सय १६ जना आईसीयूमा उपचाररत रहेका छन् भने ४६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
नेपालमा रहेका सक्रिय संक्रमितमध्ये ५ सय ७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ५ हजार ७ सय १४ जना होम आइसोलेसनमा रहेका छन् ।