वीरगन्जमा परीक्षण गराएकामध्ये आधामा कोरोना संक्रमण



Download our app to get more features

 वीरगन्ज, ३ बैशाख । वीरगन्जमा परीक्षण गराएकामध्ये आधा जतिमा कोरोना भाइरस संक्रमण भेटिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार बेलुकी ७८ जनाको परीक्षण गरिएकोमध्ये ३८ जनामा संक्रमण पुष्टि भएको हो।

७५ जनाको आरटी पीसीआर परीक्षण गर्दा ३५ जनामा र ३ जनाको एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए। 

संक्रमण पुष्टि भएका ७८ जनामध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ३१ जना छन्। डाक्टर दासका अनुसार, वीरगन्ज महानगरपालिका ४ का १० जना, वडा नम्बर ५ र १० का ३/३ जना, वडा नम्बर ८, १२, १६, २० र २४ का २/२ जना, वडा नम्बर ३, ६, ७, १४ र २७ का १/१ जनामा संक्रमण पुष्टि भएको हो। 

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० र २४ तथा कलैया महानगरपालिका वडा नम्बर ४ का १/१ जनामा पनि संक्रमण भेटिएको छ। 
रौतहटको गढीमाइ नगरपालिकाको वडा नम्बर ४ र ७ का १/१ जना, मकवानपुरको हेटौडा उपमहानगरपालिका ५ का १ जना र काठमाण्डौको तारकेश्वर नगरपालिका ९ का १ जनामा संक्रमण पुष्टि भएको डाक्टर दासले जानकारी दिए। बिहीबार थपिएका ३८ जना संक्रमितमध्ये वीरगन्जका १ वर्षीय शिशुदेखि ८७ वर्षीय बृद्धसमेत रहेको उनले बताए। 

वीरगन्जमा पछिल्लो एक हप्तामा (चैत २७ देखि बैशाख २ सम्म) मात्रै १४९ नयाँ संक्रमित थपिएका हुन्। नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि बैशाख २ गतेसम्म ३ सय ४८ जनाको परीक्षण गर्दा १ सय ४९ जनामा संक्रमण भेटिएको हो। 

गत चैत ३१ गते ७९ जनाको परीक्षण गर्दा २८ जनामा, चैत ३० मा ९५ जनाको परीक्षण गर्दा ४० मा, चैत २९ गते ६० जनाको परीक्षण गर्दा २८ मा र चैत २७ गते बिहीबार ३६ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको थियो।

परीक्षण गरिएकामध्ये आधा जतिमा संक्रमण भेटिनुले वीरगन्जमा कोरोना संक्रमणले भयावह रुप लिन थालिसकेको पुष्टि भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए।  पर्सामा दिनहु संक्रमण दर उच्च गतिमा बढी रहँदा भने यहाँका सरकोकारवाला निकायले संक्रमणलाई लक्षित गरी प्रभावकारी कदम चाल्न सकेका छैनन्। 

Last modified on 2021-04-16 11:45:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts