नेपालमा डबल म्युटेन्ट भाइरसको प्रवेश, युके भेरिएन्टका कारण संक्रमण तीव्र गतिमा फैलिँदै



Download our app to get more features

काठमाडौं, २ वैशाख । नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भइसकेको छ ।

पछिल्लो समय मुलुकमा बढ्दो कोरोना संक्रमणको दर र अस्पताल भर्ना हुने बिरामीको अनुपातले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भइसकेको पुष्टि भएको सरकारले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा देखिने गरेका कोरोना संक्रमितहरुमा बेलायतमा देखिएको न्यू भेरिएन्ट जसलाई युके भेरिएन्ट समेत भनिन्छ र भारतमा देखिएको डबल म्युटेन्ट भाइरसपनि पुष्टि भएको छ ।

मन्त्रालयले भारतसँग जोडिएका सीमा नाकाहरुमा गर्ने गरेको नमूना परीक्षण र प्रयोगशालाहरुमा गरिने पिसिआर परीक्षणमा युके भेरिएन्ट र डबल म्युटेन्ट भेरिएन्ट फेला परेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भइसकेको भन्दै सबैलाई सचेत र सतर्क रहन आग्रह गरेका छन् । 

यस्तै स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको दोस्रो चरणको लहर राम्रोसँग समुदायस्तरमै फैलिसकेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा पछिल्लो समय गरिएको कोरोनाको आरटी पिसिआर र एन्टीजेन परीक्षणमा देखिएको कोरोना संक्रमणले समुदायस्तरमै कोरोना फैलिसकेको बताए ।

उनले मुलुकका विभिन्न शहरहरुमा कोरोना भाइरसको यूके भेरियन्टको संक्रमण फैलिएको भन्दै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरिएन्ट अफ कन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि पुष्टि भएको उल्लेख गरेका छन् ।

मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी मिडिया ब्रिफिंगको क्रममा डा. पौडेलले पछिल्लो समय नेपालमा युके भेरिएन्टका कारण संकमण तीव्र गतिमा फैलिँदै गएको बताए ।

जनवरी महिनाको पहिलो साता ४ प्रतिशत पिसिआर पोजेटिभमा एस जिन नेगेटिभ थियो, जुन मार्च महिनाको अन्त्यमा आइपुग्दा ७७ प्रतिशत पुगेको उनको भनाइ छ ।

उनका अनुसार एस जिन नेगेभिट भएकामध्ये अधिकांशमा यूके भेरिएन्ट पाइएको छ । एस जिन नेगेटिभ भएका १० वटा र एस जिन पोजेटिभ आएका ५ वटा नमुना जिन सिक्वेन्सिङका लागि हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । 

डा. पौडेलले एस जिन नेगेटिभ भएका १० मध्ये ९ वटा नमुनामा यूके भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको छ । उनीहरु २१ देखि ५९ वर्ष उमेर समूहका थिए । जसमा ४ जना काठमाडौंका, २÷२ जना भक्तपुर र पोखरा तथा एक जना नुवाकोटका थिए भने दार्चुलाका एक व्यक्तिको नमुनाको जिन सिक्वेन्सिङ हुन सकेको थिएन ।

हङकङ पठाइएका एस जिन पोजेटिभ आएका ५ वटा नमुनामध्ये एकमा डबल म्युटेन्ट पुष्टि भएको पनि डा. पौडेलले बताए ।

यस्तै पछिल्लो समय नेपालमा कोरोना संक्रमित थपिनुका साथै गम्भीर प्रकारका कोभिड बिरामी अस्पताल भर्ना हुने दर पनि बढ्दै गएको छ । जुन चिन्ताको विषय रहेको विज्ञहरु बताउँछन् । 

टेकु अस्पतालदेखि मुलुकका अन्य अस्पतालहरुमा कोरोना संक्रमित भर्ना हुने दर बढेको र कतिपय अस्पतालमा कोरोनाका बिरामीको उपचारमा समेत समस्या हुन थालेको छ । 

युवा अस्थाका बिरामी र बालबालिका पछिल्लो समय कोरोनो चपेटामा आउन थालेका छन् । कोरोनाको स्वरुप फेरिएको र पहिलेको भाइरसभन्दा बढी शक्तिशाली भएकाले रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाहरु पनि संक्रमित हुन थालेको र अस्पताल नै भर्ना हुनु पर्ने अवस्था उत्पन्न भएको भन्दै डा. पौडेलले सबैलाई सचेत र सतर्क रहन आग्रह गरे ।

मन्त्रालय र सरोकारवाला निकायले कोरोनाको जोखिमलाई ध्यानमा राखी सतर्क र सावधान रहन सर्वसाधारण र सम्बन्धीत सबैलाई आग्रह गर्दै आएपनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पनि लागू नहुँदा त्यसले भयावह स्थिति उत्पन्न हुन सक्ने भएकाले सरकारका लागि चुनौतीको विषय बनेको छ ।

Last modified on 2021-04-17 13:29:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts