टेकु अस्पतालमा फेरी बहिरंग सेवा बन्द, अबदेखि कोरोना संक्रमितको उपचार मात्रै हुने
काठमाडौं, १ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अबदेखि कोभिड संक्रमितको उपचार मात्रै हुने भएको छ ।
अस्पतालका प्रवक्ता डा. अनुप वास्तोलाले अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै जादा अन्य सेवा बन्द गरिएको बताए ।
हाम्रो डाक्टर न्यूजसंग कुराकानी गर्दै उनले मंगलबारदेखि नै अस्पतालका अन्य सेवा बन्द गरिएको तर, एचआइभी र एन्टी रेबिज भ्याक्सिन सेवा यथावत् रहने बताए ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामी भर्ना हुने दर बढेकाले अन्य सेवा बन्द गरेर पुनः कोरोनाको उपचारमा मात्रै सेवा केन्द्रीत गरिएको उनले बताए ।
डा. वास्तोलाले पछिल्लो दुई सातादेखि अस्पतालमा झन्डै ४० प्रतिशतले संक्रमित बिरामी भर्ना हुने दर बढेको हुँदा अन्य सेवा लिन आउनेलाई जोखिम हुन सक्ने कुरालाई ध्यानमा राखी कोरोनाबाहेकका सेवा तत्काललाई बन्द गरिएको पनि उल्लेख गरे ।
संक्रमित थपिनेमा पनि काठमाडौं उपत्यकामा बढी रहेको र गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढ्दै जादा अस्पतालले अन्य सेवा बन्द गरेको डा. वास्तोलाको भनाइ छ ।