तराई मधेशमा नयाँ वर्षको दिन खाइने सातुको फाइदाबारे जानौं
आजबाट नयाँ वर्ष २०७८ सुरु भएको छ । नयाँ वर्ष सुरु भएसँगै विभिन्न उत्साह थपिएको छ । तर, कोरोना महामारीले सबै सचेत हुनु पनि आवश्यक छ ।
विशेषगरी नयाँ वर्ष सुरु भएकै दिन अर्थात् वैशाख १ गते तराई मधेशमा सातु खाने प्रचलन छ । चनाले बनेको सातु गुड वा नुनसँग मिसाएर खाने परम्परा तराई मधेशमा सदियौंदेखि चलिआएको छ ।
गर्मी याम सुरु हुन लाग्दा खाने सातुको आफ्नै महत्त्व छ । सातुको नियमित सेवनले अनेक स्वास्थ्य फाइदा हुने गर्छ । तपाईंहरुले सातु खानु भएको छैन भने तपाईंलाई सातु खानुका फाइदाबारे थाहा नहुन सक्छ ।
प्रायः मानिसहरु गर्मी मौसममा सातु खाने गर्छन् । हुनतः राजधानीमा सातु खाने मानिसहरु कमै भेटिन्छन् । तर, तराई क्षेत्र वा सीमान्तकृत क्षेत्रमा बसोबास गर्ने मानिसहरु बढि मात्रामा सातु खाने गरेको पाइन्छ ।
सातु स्वादका लागि मात्र प्रसिद्ध छैन स्वास्थ्यको दृष्टिकोणले पनि सातुको सेवनलाई निकै लाभदायक मानिन्छ । सातुमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ र गर्मीमा शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्छ ।
सातु खानुका फाइदाहरु निम्न प्रकारका छन :
- गर्मीमा ‘लु’ लाग्ने समस्याहरु धेरै नै सुनिन्छ । तर सातुको सेवनले शरीरलाई चिसो बनाइ राख्न मद्दत गर्दछ । जसले गर्मीको दुष्प्रभावबाट बच्नुका साथै ‘लु’ लाग्ने समस्या हुँदैन ।
- कतिपय मानिसहरुलाई पटक पटक भोक लाग्ने हुन्छ । लामो समयसम्म भोकै बस्न सकिरहेका हुँदैनन् । उनीहरुका लागि सातुको प्रयोग फाइदाजनक हुनसक्छ । सातुको सरबत बनाएर पिउने गर्नाले लामो समयसम्म भोकको अनुभुति हुँदैन ।
- सातु प्रोटिनको लागि राम्रो श्रोतको रुपमा चिनिन्छ । सातुले पेटमा हुने समस्यालाई ठिक गर्नुका साथै लिभरलाई पनि बलियो बनाउँछ । खानेकुरालाई सजिलैसँग पचाउँछ जसले गर्दा कब्जियतबाट पनि छुट्कारा पाउन सकिन्छ ।
- जौं र चनाले बनाएको सातु डाइबिटीजका लागि लाभदायक मानिन्छ । डाइबिटीजका बिरामीहरुलाई नियमितरुपमा सातुको सेवनले धेरै फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् ।
- आयुर्वेदमा सातु खानुको फाइदा पनि छुट्टै छ । जौ र चनाको सातु खाँदा त्यसले शरीरमा छिट्टै उर्जा दिन्छ । शरीरलाई कमजोर हुन दिदैन ।
- सातुको सेवन मोटोपनबाट हैरान भएका मानिसहरुका लागि रामबाण नै मानिन्छ । नियमित रुपमा सातु सेवन गर्नाले पाचनप्रक्रिया सहि तरिकाले काम गर्छ र मोटोपन समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
- उच्च रक्तचापका बिरामीहरुका लागि पनि सातुको सेवन अमुक उपाय हो । सातुमा कागतिको थोरै रस, नुन, पानी र जीरा मिश्रण गरेर सेवन गर्नुपर्छ ।