के चिनियाँ कोभिड खोप खपत कम भएको हो ? यसो भन्छ मन्त्रालय
बीबीसी, ३१ चैत । चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम रहेको चर्चा चलिरहेको बेला नेपालमा प्रयोगमा ल्याइएको खोप 'निःसङ्कोच' लगाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत शनिवार एउटा पत्रकार सम्मेलनमा चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूले प्रदान गर्ने सुरक्षाको दर उच्च नभएको र तिनको प्रभावकारिता वृद्धि गर्न खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको बताएका थिए ।
चीनले अनुदानमा दिएको कोभिड खोपको आठ लाख मात्रा लगाउने कार्य अहिले नेपालमा जारी छ ।
नेपालमा प्रयोगमा ल्याइएको भेरो सेल खोपको प्रभावकारिता ७९ प्रतिशत रहेको अधिकारीहरूले जनाएका छन् ।
अहिलेसम्म चीनले चारवटा खोपलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ ।
नेपालमा खोप वितरणको अवस्था के छ ?
मन्त्रालयका अनुसार आइतवारसम्म नेपालमा ३१ हजार जनाभन्दा बढी मानिसले चिनियाँ खोप लगाएका छन् । सबैभन्दा धेरै काठमाण्डूमा २३ हजार जनाले उक्त खोप लगाएका हुन् ।
बाँकी खोप रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोकमा खपत भएको बताइएको छ ।
खोप लगाउनेहरूको सङ्ख्या कम देखिएको विषयमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतम भन्छन्: ''हामीले अहिले सीमित जिल्लाहरूबाट मात्रै खोप दिइरहेका छौँ । त्यसमा पनि लक्षित समूहलाई मात्रै खोप उपलब्ध गराइएको छ ।"
"सीमित खोप केन्द्रबाट दैनिक झन्डै ५ हजारदेखि ७ हजार जनाले खोप लगाइराखेका छन् जुन राम्रो सङ्ख्या हो ।''
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पनि चीनबाट आवतजावत बढी हुने जिल्ला र काम वा अध्ययनका लागि चीन जानेप्रति लक्षित गरेर खोप दिइएका कारण सङ्ख्यामा कमी देखिएको बताए ।
कसले लगाउन पाउँछन् चिनियाँ खोप ?
कतिपय मानिसमा चीनमा विकसित खोप बारे संशय रहेकाले खोप लगाउन इच्छुक नदेखिएको भन्ने विवरणका सुन्नमा आएको भए पनि त्यसमा "सत्यता नरहेको" गौतम बताउँछन् ।
"खोप उपलब्ध भएका स्थानहरूमा निर्धक्क खोप लगाइरहेका छन् । अन्य कुनै कारणले खोप नलगाएको हामीलाई महसुस भएको छैन ।"
गौतमका अनुसार ४० देखि ५९ वर्षका नागरिकलाई चैत्र ३१ देखि वैशाख ५ गतेसम्म उक्त खोप दिन थालिएको छ ।
त्यसका लागि विभिन्न जिल्लामा २३ वटा केन्द्र तोकिएका छन् । तर वैशाख १ गते सार्वजनिक बिदा परेकाले खोप वितरण गरिनेछैन ।
अहिलेसम्मका लक्षित वर्गलाई निरन्तरता दिई सार्वजनिक यातायातका चालक तथा सहचालकहरूलाई पनि खोप उपलब्ध गराइने स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।
कोभिड खोप वितरणमा किन ढिलाइ ?
खोपको सीमित मात्रा रहेको र भेरो सेल खोप लगाइसक्नुपर्ने अवधि पनि लामो भएकाले सरकारले बिस्तारै खोप वितरण गर्ने तयारी गरेको अधिकारीले जानकारी दिए ।
चीनको सिनोफर्म कम्पनीअन्तर्गत बेङजिङ् इन्स्टिट्यूट अफ बायोलोजिकल प्रोडक्ट्सले उत्पादन गरेको भेरो सेल खोपलाई नेपालमा आकस्मिक प्रयोगका लागि गत फागुन महिनामा अनुमति दिइएको थियो ।
स्वास्थ्य मन्त्रालयको एउटा दस्तावेजका अनुसार उक्त खोप उत्पादन भएको मितिले दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
दुई मात्रा लगाउनुपर्ने यो खोपको मात्राबीच अन्तराल चार हप्ता हुनुपर्छ । त्यस्ता खोप भण्डारण र ढुवानी गर्दा २ देखि ८ डिग्री सेल्सीअस तापक्रम कायम गर्नुपर्ने बताइएको छ ।