आजबाट चिनियाँ कम्पनीको खोप ४० देखि ५९ वर्षका व्यक्तिलाई लगाइँदै
काठमाडौं, ३१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउदैँ छ।
यसअघि गएको २५ गते चिनियाँ कम्पनीको यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका पेशागत नागरिकलाई लगाइएको थियो ।
आजदेखि नै चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।
उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ। यस्तै ४० वर्षदेखि ५९ वर्षका सर्वसाधरण नागरिकले पनि खोप केन्द्रमा गएर कोभिड विरुद्धको खोप लगाउन सक्ने छन्।
चीनले नेपाललाई अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अहिले वितरण भइरहेको हो । यो खोप पनि कोभिसिल्ड खोप जस्तै दुई मात्रा लगाउनुपर्छ । पहिलो डोज लगाएको २८ दिनपछि यो खोपको दोस्रो डोज लगाउनुपर्छ ।
यसैबीच, सरकारले गएको माघ १४ गते पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका चार लाख ३९ हजार जनालाई आउँदो ७ गतेदेखि दोस्रो डोज वितरण गर्ने तयारी गरेको छ ।