पिसिआर र एन्टीजेन विधिबाट कोरोना परीक्षणः ३ सय ६७ जनामा संक्रमण पुष्टि
देशभर १५ जनाको उपचार भेन्टिलेटरमा हुँदै
काठमाडौं, २९ चैत । नेपालमा पछिल्लो समय कोरोनाको सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालभर सक्रिय संक्रमितको संख्या २ सय ९ सय ६१ रहेको छ । जबकी शनिवार नेपालभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय रहेको थियो ।
१५ सय मा झरेको सक्रिय संक्रमित पछिल्लो समय उकालो लाग्दै गएको छ ।
यस्तै गत २४ घन्टामा थप ३ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा पिसिआर विधिबाट ३ हजार १ सय २५ परीक्षणमा ३ सय ३ र एन्टीजेन विधिबाट गरिएको ६ सय ९० परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ८० हजार ९२ पुगेको छ ।
यस्तै गत २४ घन्टामा १ सय ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसका कराण संक्रमित भएकामध्ये निको हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ९ प्रतिशत हो ।
देशभर रहेका सक्रिय संक्रमित मध्ये ३ सय ९४ जना संस्थागत आइसोलेसनमा छन् भने २ हजार ५ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै देशभर ८९ जना आईसीयूमा भर्ना भएका छन् । जसमा १५ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।