डेण्टल एशोसिएसनको अध्यक्षमा डा. मास्के विजयी
काठमाडौं, २९ चैत । नेपाल डेण्टल एशोसिएसनको अध्यक्षमा डा. सुभित मास्के विजयी भएका छन्। नयाँ नेतृत्व चयनका लागि उपत्यकामा शनिबार र उपत्यकाबाहिर २१ गते निर्वाचन भएको थियो।
शनिबार राती १० बजे मत गणना सम्पन्न भएको हो। अन्तिम मतपरिणाम अनुसार डा. मास्केले ६०६ मत ल्याएर निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. अनिल शाक्यले बताए ।
उनका अनुसार निर्वाचनमा ९१० मत खसेको थियो। उपत्यकाबाहिर ३८१, काठमाडौं उपत्यकामा ५२५ र ४ वटा पोष्टल भोटिङ भएको थियो।
यस्तै, महासचिवमा डा. गालव अधिकार र कोषाध्यक्षमा डा. निश्चल कुँवर विजयी भएका छन्। डा. अधिकारीले ५४८ मत र डा. कुँवरले ४४० मत ल्याएर विजयी भएका हुन ।
एशोसिएसनको चुनाव अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि मात्र भएको हो। उपाध्यक्ष, सहसचिव र सदस्यहरूमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
अध्यक्षका लागि डा. सुभित मास्के र डा. कुम्भराज जोशी चुनावी मैदानमा थिए भने महासचिवका लागि डा. गालव अधिकारी र डा. जोन गुरुङ, कोषाध्यक्ष पदका लागि डा. निश्चल कुँवर र डा. चेतन बस्नेत प्रतिस्पर्धामा थिए।
सहसचिवमा डा. विश्व प्रकाश ठाकुर र सदस्यहरूमा डा. लोकेश वर्मा, डा. हरिप्रसाद वली, डा. खिलासा पोखरेल र डा. अच्युत भट्ट निर्वाचित भइसकेका छन्।