चितवनमा पनि कोरोनाको दोस्रो लहरको संकेतः बढ्न थाले सक्रिय संक्रमित
८ जना अस्पतालमा उपचाररत
चितवन, २८ चैत । देशैभर कोरोना संक्रमणको दर बढ्दै गएको बेला चितवनमा पनि कोरोनाको दोस्रो चरणको लहर देखिन थालेको छ ।
चैतको पहिलो साता जिल्लामा २२ जना सक्रिय संक्रमित रहेका थिए । त्यति बेला भरतपुर र रत्ननगर बाहेक सबै स्थानीयतह संक्रमणमुक्त भएका थिए । यसरी नियन्त्रण तर्फ रहेको कोरोना संक्रमण एकाएक उकालो लाग्दै छ ।
जिल्लाभर ५२ जना सक्रिय संक्रमित, ८ जना अस्पताल भर्ना
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शुक्रवार दिउँसोसम्म जिल्लाभर ५२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३९ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । यो जिल्लाभर सक्रिय संक्रमितको ७५ प्रतिशत हो । जसमध्ये पनि ७ जनालाई अस्पतालमा भर्ना गरि उपचार गरिदै छ । भर्ना हुने अर्का एक जना रत्ननगरका छन् । ती मध्ये केहीमा जटिल प्रकृतिका कोरोना लक्षण समेत देखिएको अस्पतालले जनाएको छ । बाँकी १३ जना संक्रमण देखिनेमा जिल्लाका अन्य चार स्थानीय तहका छन् ।
भरतपुरमा मात्रै अहिलेसम्म ५ हजार भन्दाबढि संक्रमित
भरतपुर महानगरपालिकामा मात्रै अहिलेसम्म ५ हजार ४४ जनामा संक्रमित भएका थिए । जसमध्ये ४ हजार नौ सय २८ जना निको भईसकेका छन् । त्यस्तै ७० जनाको मृत्यु भएको छ ।
जिल्लाका दुई स्थानीयतह कोरोना संक्रमणमुक्त
जिल्लाका सातवटा स्थानीयतह मध्ये दुई वटा संक्रमणमुक्त रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी संक्रमणमुक्त हुनेमा माडी नगरपालिका र जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामना रहेका छन् । बाँकी सबै स्थानीय तहमा पछिल्लो समय फेरि संक्रमण देखिएको हो । चैत पहिलो साता भरतपुर र रत्ननगर बाहेक सबै स्थानीयतह संक्रमणमुक्त भएका थिए ।
संक्रमितको सङ्ख्या ७ हजार नजिक, एक सय ११ को मृत्यु
जिल्लाभर अहिलेसम्म ६ हजार ९ सय ६२ जना कुल संक्रमित मध्ये एकसय ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका भित्रका सबैभन्दा बढी छन् । त्यस्तै, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका सबैभन्दा कम रहेका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिकामा ७० जना, रत्ननगर नगरपालिकामा १३ जना, कालिका नगरपालिकामा ८ जना रहेका छन् । खैरहनी र राप्ती नगरपालिकामा समान ९/९ जना रहेका छन् । त्यसैगरी माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा समान एक/एकजना रहेका छन् ।
यसैबीच जिल्लाभर अहिलेसम्म संक्रमित मध्ये ६ हजार ७ सय ९९ जना निको भईसकेका छन् ।
कोरोनाबाट जोगिन र अरुलाई जोगाउन फर्मासिष्ट थापाको यस्तो छ सुझावः
कोरोना भाइरसबाट आफू जोगिन र अरुलाई जोगाउन सबैले सही तरिकाले मास्कको प्रयोग गर्न भरतपुर अस्पतालमा कार्यरत फर्मासिष्ट सूर्य बिक्रम थापाले अनुरोध गरेका छन् ।
अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न उनले सबैलाई अनुरोध गरेका छन् ।
‘सन्तुलित खाना, नियमित व्यायाम र उच्च आत्मबल राख्नुपर्छ’ उनले भने ‘संक्रमण देखियो भने डराउने भन्दा पनि आफ्नो मनोबल उच्च राख्नुपर्छ । मध्यम र कडा खालको लक्षण देखिएका कोरोनाका बिरामीले भने आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । आफ्नो शरीरमा अक्सिजनको मात्रा, मुटुको चाल, ब्लड प्रेसर र अन्य अवस्थाबारे जानकारी राख्नुपर्छ । कुनै समस्या देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।’
आफूले लामो समयदेखि सेवन गर्दै आएको नियमित औषधि नछाड्न र आवश्यक परे चिकित्सकसँग परामर्श लिन उनले अनुरोध गरे । सास फेर्न गाह्रो भएमा वा अन्य जटिल प्रकारका स्वास्थ्य समस्या देखिएमा समयमै अस्पताल आउँन समेत सबैलाई उनले सल्लाह दिएका छन् ।
भिडभाड हुने सरकारी कार्यालय, होटल, सिनेमा हल, अस्पताल, सार्वजनिक यातायातहरूलाई व्यवस्थित बनाउनु पर्ने फर्मासिष्ट थापाले बताए । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न उनले सबैलाई अनुरोध समेत गरेका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।